तनहुँ । तनहुँ जिल्लामा कोरोना परीक्षणका लागि करीब चार हजार जनाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गरिएको छ । भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएका समेत गरी जिल्लामा ३ हजार ७ सय ६९ जनाको पिसीआर परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तीमध्ये ३ हजार २ सय ७० पुरुष र ४ सय ९९ महिला रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । परीक्षण गरिएकामध्ये १ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने ३ हजार ४ सय ६ जनामा कोरोना पुष्टि नभएको कार्यालयले जनाएको छ ।
भानु नगरपालिकाका १४ महिला र २३३ पुरुष गरी २४७, व्यास नगरपालिकामा १२३ महिला र ७३१ पुरुष गरी ८५४, दमौली अस्पतालमा १० महिला र ८९ पुरुष गरी ९९, शुक्लागण्डकी नगरपालिकामा ३८ महिला र ३४८ पुरुष गरी ३८६, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ४९ महिला र ८४ पुरुष गरी १३३, भीमाद नगरपालिकामा ३८ महिला र ३१७ पुरुष गरी ३५५, म्याग्दे गाउँपालिकामा २२ महिला र २२४ पुरुष गरी २४६, घिरिङ गाउँपालिकामा ३१ महिला र २८८ पुरुष गरी ३१९, ऋषिङ गाउँपालिकामा ३० महिला र ४५८ पुरुष गरी ४८८, देवघाट गाउँपलिकामा १४ महिला र ११० पुरुष गरी १२४, बन्दीपुर गाउँपालिकामा ६१ महिला र १८६ पुरुष गरी २४७ र आँबुखैरेनी गाउँपालिकामा ६९ महिला र २०२ पुरुष गरी २७१ जनाको पिसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामध्ये भानु नगरपालिकाका ११, व्यास नगरपालिकाका ३०, शुक्लागण्डकी नगरपालिकाका १३, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका १, भीमाद नगरपालिकाका १३, म्याग्दे गाउँपालिकाका १४, घिरिङ गाउँपालिकाका २८, ऋषिङ गाउँपालिकाका ४५, देवघाट गाउँपालिकाका १, बन्दीपुर गाउँपालिकाका २३ र आँबुखैरेनी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको थियो ।