दमौली । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको उपाधि रोल्पाकी आश्मा विकले जितेकी छन् ।
व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरीको दौड प्रतियोगितामा ३० धावकलाई पछि पार्दै विकले उपाधि जितेकी हुन् । उक्त दूरी विकले एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पूरा गरिन् ।
प्रतियोगितामा ओखलढुङ्गाकी लाक्पा डिङ्मा शेर्पा द्वितीय भएकी छिन् । उनले उक्त दूरी दुई घण्टा चार मिनेट ५३ सेकेण्डमा पूरा गरिन्
त्यस्तै काठमाडौकी विमला तामाङ तृतीय भइन् । उनले उक्त दूरी दुई घण्टा १२ मिनेट ३८ सेकेण्डमा पूरा गरिन् ।
व्यास नगरपालिका–१० की नम्रता गुरुङ चौथो हुँदा उनले उक्त दूरी दुई घण्टा २० मिनेट २३ सेकेण्डमा पूरा गरिन् ।
त्यस्तै व्यास-४ की सन्ध्या अधिकारी पॉचौ भइन्। उनले उक्त दूरी दुई घण्टा ३९ मिनेटमा पूरा गरिन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ८१, द्वितीय हुनेलाई रु ३१ हजार ८१, तृतीय हुनेलाई रु २१ हजार ८१ र सान्त्वना हुनेलाई रु ११ हजार ८१ का दरले पुरस्कार वितरण गरिएको छ ।
व्यासगुफादेखि सुरु भएको दौड अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवार पुगेर टुङ्गिएको थियो ।
नगरपालिकाले प्रत्येक वर्षको माघ १६ गते ४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथनको आयोजना गर्ने गरेको थियो । यस वर्ष अल्ट्रा म्याराथन नगरी महिला हाफ म्याराथन गरिएको हो ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व अर्थमन्त्री जितप्रकाश आलेले खेलकुदले शारीरिक तन्दुरुस्त बनाउनुका साथै अनुशासित बन्न प्रेरित गर्ने बताए ।
धार्मिक पर्यटकीय स्थल व्यास गुफा र ऐतिहासिक स्थल तनहुँसुरलाई खेलुकदमार्फत् जोड्न महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिक स्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको उनको भनाइ छ ।