दमौली । गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीप २०८१ (अल्ट्र र्याफ्टिङ म्याराथन)को उपाधि बागमती प्रदेशले जितेको छ ।
गोरखाको गण्डकी गाउँपालिकाको फिस्लिङबाट तनहुँको देवघाटस्थित कालीगण्डकी नदीको सङ्गमस्थल बेनीसम्म ५० किलोमिटरको दूरी सबैभन्दा चाँडो पार गर्दै बागमती प्रदेशले उपाधि जितेको हो । उसले रु ६० हजार पुरस्कार प्राप्त गरेको छ ।
बुधबार गोरखाबाट हिँडेको प्रतियोगीहरु आज दिउँसो देवघाट आइपुगेका हुन् । प्रतियोगिताको उपविजेता बनेको गण्डकी प्रदेशको समूहले रु ४० हजार पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो हुने कोसी प्रदेशको समूहले रु २० हजार, चौथो हुने त्रिभुवन आर्मी ‘बी’ले रु १० हजार तथा सान्त्वना हुने त्रिभुवन आर्मी ‘ए’ले रु सात हजार पुरस्कार हात पारेको प्रतियोगिता संयोजक वसन्तराज दवाडीले जानकारी दिए ।
गण्डकी प्रदेशमा पर्ने मनकामना मन्दिर र देवघाटधामलाई जलपर्यटनमार्फत जोड्ने उद्देश्यले साहसिक प्रतियोगिता गरिएको दवाडीको भनाइ छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले प्रतियोगितामार्फत धार्मिक पर्यटनलाई वृद्धि गर्दै आयआर्जन र रोजगारी वृद्धि गर्न सकिने बताए । जलमार्गबाट पोखरा र चितवन तथा मनकामना र त्रिवेणीलाई जोड्न सकिने भन्दै उनले यसको तयारीमा आफूहरु जुटेको बताए । खेलकुद बहुआयामिक क्षेत्र भएको भन्दै शर्माले नारायणीमा दौड, पौडी र साइक्लिङ गर्न सकिने धारणा व्यक्त गरे ।
देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले प्रदेशकै धार्मिक पर्यटनको प्रबद्र्धन हुनेगरी प्रतियोगिता गर्नु सराहनीय काम भएको बताए ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले यसप्रकारका प्रतियोगिताले खेल र धर्मलाई जोड्न समन्वयकारी भूमिका खेल्ने बताए ।