दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेलको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका ईन्चार्ज किरण गुरुङको प्रमुख आतिथ्यतामा शुक्रबार बसेको बैठकले पार्टी कामलाई वडा हुँदै टोल कमिटी सम्म पुग्ने योजनाका साथ तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको हो।
वडा कमिटीलाई परिचालन गरि टोल सम्म जाने योजनाका साथ यो अभियान संचालन हुनेछ । अभियानका क्रममा नेता र कार्यकर्तावाट सेतुको काम गर्ने, टोल र स्थानीय जनतासँग पार्टीलाई जोड्ने काम हुने अध्यक्ष कंडेलले जानकारी दिए ।
अभियानमा जनप्रतिनिधि र वडा पार्टी, जनप्रतिनिधि र पालिका कमिटी लगायत जिल्ला पार्टीको बीचमा अन्तरक्रिया गरिनेछ । सरकारको काम कारवाहीलाई जनतामाझ पुर्याउने, सुखी नेपाली समृद्ध वनाउने, जनताको चाहनालाई नजिकवाट वुझने, पार्टी नेतृत्व विरुद्ध फैलाईएको भ्रमलाई चिर्ने लगायतका कामहरु अभियानमा सञ्चालन गरिने कंडेलले बताए ।