व्यास नगरपालिकाको अपिल–कोरोनाबाट बच्न सावधानी अपनाऔ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाको अपिल–कोरोनाबाट बच्न सावधानी अपनाऔ

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको व्यास नगरपालिकाले कोरोनाबाट बच्न स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन सबैलाई आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नगरपालिकाले स्वास्थ्य सावधानी नअपनाउँदा जोखिम बढ्ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरेको हो ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेले सेवा प्रदान गर्ने कार्यालय, स्थानीय अस्पताल, सबै प्रकारका व्यापार व्यवसाय गर्ने व्यवसायीहरुले सावधानी नअपनाएको गुनासो आएकाले सम्बद्ध सबैमा सावधानी अपनाउन अनुरोध गरिएको बताउनुभयो ।

    बन्दाबन्दी खुकुलो भएसँगै जनजीवन सामान्य बन्दा कोरोनाको असर सदरमुकामसम्म फैलिएको अनुभूति भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विदेशबाट आउने नगरवासीलाई सुरक्षित होम क्वारेन्टिन नभएसम्म नगरपालिकाले तय गरेको क्वारेन्टिनमा राख्न सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

    कोरोना सङ्क्रमित देखिएका वडाहरुमा कार्यालयको सेवा बन्द गरी, शङ्कास्पद पिसीआर परीक्षण गरी परीक्षण प्रतिवेदन प्राप्त भएपछि सुरक्षित अवस्था देखिएमा पुनः वडा कार्यालय सञ्चालनमा ल्याइएको हुँदा सबै वडा अन्तर्गत टोल विकास संस्थाहरुले टोलको कार्यक्षेत्रभित्र निगरानी गरी शङ्कास्पद अवस्था देखिएमा तत्काल नगरपालिका स्वास्थ्य शाखामा सूचना दिन आग्रह गरिएको छ ।
    वर्तमान समय कोरोनाका कारणले संवेदनशील रहेको हुँदा नगरपालिकामा क्रियाशील सञ्चारमाध्यम सबैले जिम्मेवार भई परिस्थितिलाई अतिरञ्जित नगरी सत्यतथ्य अवस्थाबाट पुष्टि हुने समाचार मात्र प्रकाशन, प्रशारण गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

    सम्पूर्ण नगरवासीहरुलाई अत्यावश्यक बाहेक घरबाट ननिस्किन र घरबाट निस्कनै परेमा पनि स्वास्थ्य सम्बन्धी नियमको पूर्ण पालना गरी सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।