दमाैली, २५ वैशाख । तनहुँमा हालै मात्र सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पेशागत व्यावसायिकतालाई ध्यानमा राखेर काम गर्ने बताएका छन् । बिहीबार कार्यालयमा सञ्चारकर्मीसँग भेटघाट गर्दै प्रजिअ अधिकारीले सहकार्यबाट उपलब्धिमूलक काम हुने भएकाले सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
कर्मचारीको सरुवा प्रक्रिया सामान्य भएको बताउँदै उनले खटाएको ठाउँमा गएर काम गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरे । तनहुँका प्रजिअका छोटो समयमै भएको सरुवाको सन्दर्भमा पत्रकारले सोधेको जिज्ञासामा विषयमा आफूलाई यसबारेमा जानकारी नभएको टिप्पणी गरे ।
राज्य सञ्चालन गर्ने राजनीतिक दलले भएको बताउँदै उनले राजनीतिक दलका सबै नेताहरुप्रति श्रद्धा र सम्मान भएको बताए । काम गर्ने सिलसिलामा प्रचलित कानुनले तोकेका कामहरु गर्ने बताउँदै उनले शान्तिसुरक्षा कायम, अपराध न्यूनीकरण पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
अधिकारीले सेवा प्रवाहलाई सरल र सहज बनाउने बताउँदै विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले कार्यालयले चालु आर्थिक वर्षमा सम्पादन गरेका कामको विषयमा जानकारी गराएका थिए ।