


काठमाडौं, २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति संशय व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति विरुद्ध परेको मुद्धामा सर्वोच्च अदालतले तत्कालीन सरकारले गरेको निर्णयलाई सदर गरेको थियो ।
सर्वोच्चले गरेको फैसलामा एमालेकै चाल अनुसार भएको हो कि भनि वाग्लेले आशंका व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा वाग्लेले भने, ‘सत्ताकै गठबन्धनमा रहेको अर्को दलले कुनै अज्ञात रुपमा रहस्यमय रुपमा चलखेल गरिरहेको छ कि त्यसप्रति नेतृत्व तहलाई आग्रह गर्न चाहन्छु ।’
केन्द्रीय सदस्य वाग्लेले सत्ताको नेतृत्व गरिरहेको दल एमालेको नाम नलिई निजामती विधेयकमा पनि चलखेल भएको हुनसक्ने आशंका गरे ।
‘निजामती विधेयक जो विशेष गरेर कांग्रेस पार्टीको पहलमा संसदमा पेश गरियो, त्यसमाथि गरिएको छेडखानी होस् या हालै मात्र सर्वोच्चले गरेको जुन फैसला हो,’ वाग्लेले भने, ‘हाम्रो संवैधानिक पद्धतिलाई लज्जित बनाएको छ, बेइज्जती गरेको छ, आज अध्यादेश मार्फत के मुलुकको आधारभूत संवैधानिक प्रावधानहरुमाथि संशोधन गर्न सकिन्छ ?’
सर्वोच्चको फैसलाले कतै अज्ञात कोठाबाट अदालतलाई प्रभावित पारेर संवैधानिक अंगहरुमा कब्जा जमाउन खोजिएको त होइन ? भन्दै उनले आशंका राखे ।
नेतृत्वको ध्यानाकर्षण गराउँदै उनले भने, ‘आज यो आशंकालाई पनि सतर्कतापूर्वक अध्ययन गर्नुहुन म नेतृत्व समक्ष म यो राख्न चाहन्छु, अनुरोध गर्न चाहन्छु ।’
सत्ता गठबन्धन वाध्यात्मक व्यवस्था भएपनि यसको प्रभावकारिता, जनतामा देखिएको उद्विग्नता, बेचैनी र छट्पटी हटाएर सरकारको प्रभावकारिताको मूल्यांकन हुनुपर्ने उनले बताए ।