गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी भाषा बनाउने निर्णयप्रति दमाैलीमा दीप प्रज्ज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी भाषा बनाउने निर्णयप्रति दमाैलीमा दीप प्रज्ज्वलन

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८२, मंगलवार

    दमाैली, २४ असार । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णयको स्वागत गर्दै तनहुँ सदरमुकाम दमौली बजारमा दीप प्रज्ज्वलन गरिएको छ । गण्डकी प्रदेशसभाले आज मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको खुसीयालीमा व्यास नगरपालिका–३ अनसन चौतारीमा साँझ दीप प्रज्ज्वलन गरिएको हो ।

    तमु विद्यार्थी छाेज धिं तनहुँको आयोजनामा गरिएको दीप प्रज्ज्वलनमा व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङ, व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप राना, व्यास नगरपालिका–४ का वडाध्यक्ष मानबहादुर गुरुङ लगायतको सहभागिता थियो ।

    तमु विद्यार्थी छाेज धिं तनहुँका अध्यक्ष मिलन गुरुङले प्रदेश सभाले गरेको यो निर्णयले समग्र प्रदेशभरका गुरुङ र मगर समुदायलाई खुसी तुल्याएको उल्लेख गरे ।

    भाषा आयोग काठमाडौले सरकारी कामकाजको भाषा सम्बन्धी सिफारिस, २०७८ ले आयोगले स्थापित गरेको प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरु पूरा गर्ने अवस्थामा रहेका मगर र गुरुङ भाषालाई प्रदेशका सरकारी कामकाजका भाषाका रुपमा कार्यान्वयनमा ल्याउन लागिएको हो ।

    गण्डकी प्रदेशमा मगर समुदायको बसोबास १८.८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत रहेको तथ्याङ्क छ । गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो जातीय समुदाय रहेको छ ।