


कहिलेकाहीँ पात्रहरुको कर्म, त्याग, निष्ठा र जनसेवाप्रतिको अदम्य समर्पणको मूल्याङ्कन गर्दै इतिहास आफैंले नेतृत्वका लागि केही प्रतिनिधिहरू छान्छ। यस्तै सन्दर्भमा आज हामीले राष्ट्रिय गौरवको अनुभूति गर्न पाएका छौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वजस्तो अत्यन्त जिम्मेवार पदमा आदरणीय भगवती न्यौपानेज्यू नियुक्त हुनुभएको खबरले सम्पूर्ण नेपाली समाज, विशेषतः सशक्त नेतृत्वप्रति आस्था राख्ने हामी सबैमा गर्व, श्रद्धा र अपेक्षाको नयाँ ऊर्जा भरिएको छ।
यो पद केवल औपचारिक जिम्मेवारी मात्र होइन, यो संघीय संरचनालाई जीवन्त, प्रभावकारी र उत्तरदायी बनाउने ऐतिहासिक अवसर हो। र हामीलाई सन्तोषको अनुभूति भएको छ कि यो महत्वपूर्ण जिम्मेवारी एक सिद्धान्तनिष्ठ, विचारशील, कर्मशील र संवेदनशील नेतृको काँधमा पुगेको छ, जसले पदको होइन, विचारको कारण आफ्नो पहिचान बनाउनु भएको छ।
उहाँको जीवनयात्रा कुनै साधारण कथा होइन। यो यात्रा हो, संघर्षबाट सिद्धान्तसम्म, भूमिगत राजनैतिक गतिविधिबाट खुला संसदसम्म, संगठन निर्माणको कठोर यात्राबाट राष्ट्रिय नेतृत्वको शिखरसम्म। तनहुँको गाउँघरको माटोबाट हुर्किनुभएको, बाल्यकालदेखि नै समाजको दुःख, विभेद र महिलाको पीडालाई प्रत्यक्ष भोग्दै आउनुभएको उहाँले सत्ता होइन, विचार र न्यायको पक्षमा जीवन अर्पण गर्नुभयो।
पार्टीका सिद्धान्तप्रति गहिरो निष्ठा राख्दै, जन–संगठन निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै, उहाँले सदैव “नेतृत्व भनेको सेवा हो” भन्ने मूल्यलाई आत्मसात गर्नुभयो। प्रचार–प्रसारभन्दा परिश्रम, प्रदर्शनभन्दा परिणाम र आडम्बरभन्दा आत्मिक समर्पण उहाँको नेतृत्वशैलीको विशेषता रह्यो।
महिला नेतृत्वको कुरा गर्दा भाषण धेरै हुन्छ, तर व्यवहारमा लाग्नेहरू दुर्लभ छन्। उहाँले महिला सशक्तिकरणलाई नाराबाट नीतिमा र नीतिबाट व्यवहारमा रूपान्तरण गराउन अग्रणी भूमिका खेल्नुभयो। उहाँले महिलाको राजनीतिक पहुँच मात्र नभई, निर्णय प्रक्रियामा सक्रिय सहभागिता आवश्यक छ भन्ने सन्देश व्यवहारमै देखाउनुभयो।
उहाँको उपस्थितिले थुप्रै युवतीहरूमा आत्मबल थपेको छ।राजनीतिमा लाग्ने आँट दिएको छ। महिला नेतृको रूपमै उहाँ अब राष्ट्रको प्रशासनिक संरचना सञ्चालन गर्ने नेतृत्वको केन्द्रमा हुनुहुन्छ, जुन नेपालका लागि नयाँ इतिहास लेखिने क्षण हो।
राष्ट्रिय सभा सदस्यको रूपमा उहाँको कार्यकाल अत्यन्त प्रभावशाली रह्यो। उहाँको बोलीमा विचार थियो, तर्क थियो, तथ्य थियो र भावनात्मक उत्तरदायित्व पनि। उहाँले बोलेका मुद्दाहरू सतही थिएनन।गम्भीर, नीतिगत र दीर्घकालीन दृष्टिकोणले भरिएका हुन्थे।
संघीयता सुदृढ पार्नुपर्ने, कर्मचारी प्रशासन नागरिकमैत्री बन्नुपर्ने, स्थानीय तहमा स्रोत–साधनको समुचित व्यवस्थापन हुनुपर्ने, महिला र दलित समुदायको सहभागिता सुनिश्चत हुनुपर्ने, अपांगता भएका व्यक्तिहरूको हक, स्वास्थ्य, शिक्षा, कृषि, युवा–उद्यम सबै विषयमा उहाँको आवाज संसदमा स्पष्ट, सशक्त र गहिरो रह्यो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नेपालको संघीय शासन प्रणालीको मेरुदण्ड हो। यस मन्त्रालयको प्रभाव केवल मन्त्रालयभित्र सीमित हुँदैन—यसको निर्णयले स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय, कर्मचारी दरबन्दी, सरुवा वढुवा, समायोजन, सेवा प्रवाह, नागरिकको प्रत्यक्ष अनुभव र राज्यका सबै संरचनामा सुधार ल्याउने समेत सामर्थ्य राख्दछ।
उहाँजस्तो संयमी, गम्भीर, नीति–विश्लेषक र जनउत्तरदायी नेतृ यो मन्त्रालयको नेतृत्वमा हुनु, संघीयताको लागि अत्यन्त शुभ संकेत हो।
अब हामी आशा गर्छौं,
संघीयता व्यवहारमै जीवन्त हुनेछ,
स्थानीय तहको क्षमता र स्रोत व्यवस्थापन अझ सबल बन्नेछ,
सेवा प्रवाहमा देखिएको विलम्ब, असमानता र अपारदर्शिता अन्त्य हुनेछ,
कर्मचारी प्रशासन जनमुखी, प्रभावकारी र समावेशी बन्नेछ,
महिला, दलित, आदिवासी, जनजाति र अपांगता भएका कर्मचारीहरूलाई समान अवसर सुनिश्चित हुनेछ,
कर्मचारीमैत्री, सेवाग्राहीमैत्री र नागरिकमैत्री ‘निजामति सेवा ऐन’ तुरुन्तै कार्यान्वयनमा आउनेछ ।
माननीय मन्त्रीज्यू तपाईं केवल तनहुँकी चेली मात्र होइन, यो राष्ट्रको आत्मबल हुनुहुन्छ।
तपाईं पदमा पुग्नुभएको होइन, पद तपाईंको मूल्य, तपाईको कर्म र तपाईको विचारसँग जोडिएको छ।तपाईंको नेतृत्वले निष्ठा, नैतिकता, सादगी र संकल्पको सन्देश दिनेछ।हामी सबै तपाईंबाट आशावादी छौं। तपाईंको सफल कार्यकालले नेपालको प्रशासनिक इतिहासमा सुशासन, समन्वय र सेवा सुधारको नयाँ अध्याय लेख्नेछ।
पुनः एकपटक
हार्दिक बधाई, गहिरो सम्मान र उज्यालो कार्यकालको शुभकामना ।