


काठमाडौ, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्।
उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरे।
उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।
उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराए।
ओलीले ‘यो संवैधानिक बाटोबाटै गर्न लागिएको हो नि, अरूसँग परामर्श गर्नुभयो’ भनेर सोधेका थिए।
राष्ट्रपति पौडेलले ‘संविधानकै बाटो खोज्ने हो र सबैसँग कुरा पनि भइसक्यो’ भने।
त्यसपछि ओलीले ‘त्यसो भए ठीकै छ’ भनेको स्रोतले जनाएको छ।
त्यस्तै राष्ट्रपति पौडेलले अस्पतालमा उपचाररत कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा परामर्श गरे।
देउवाले ‘संविधान अनुसार गर्नुस्, मेरो सहमति छ’ भने।
राष्ट्रपतिले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने शितल निवासमै बोलाएर भेटे र कार्कीको नियुक्तिबारे परामर्श गरे।
कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग पनि शितल निवासमै उनले छलफल गरेका थिए।
राष्ट्रपति पौडेलले नेताहरूलाई ‘आज जसरी पनि प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रेसर छ, यो प्रेसर धान्न सकिँदैन, आजै नियुक्त गर्नुपर्छ’ भनेर खबर गरेका थिए।
त्यसपछि उनीहरूसँग फोनवार्ता, भेटघाट गरेर छलफल सुरू गरेका हुन्।
उनले संविधानविदहरूसँग पनि शितल निवासमै बिहीबार अपराह्न ४ बजेदेखि परामर्श गरे। (सेतोपाटीबाट)