पूर्व विद्यार्थी समाज माहेन्द्रीको अध्यक्षमा गोविन्द पौडेल चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्व विद्यार्थी समाज माहेन्द्रीको अध्यक्षमा गोविन्द पौडेल चयन

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०८२, सोमबार

    दमाैली, १३ असाेज । व्यास–९ झिनुवाटरस्थित माहेन्द्री माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको अध्यक्षमा गोविन्द पौडेल चयन भएका छन्। विद्यालय परिसरमा आइतबार सम्पन्न भेलाले उद्धवराज कट्टेलको अध्यक्षतामा रहेको समितिलाई विघटन गरी पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

    नवगठित समितिको उपाध्यक्षमा दयाराज कट्टेल, सचिवमा विजय आचार्य, कोषाध्यक्षमा प्रकाश थापा र सहसचिवमा सुनिता आचार्य चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा भोटबहादुर थापा, सूर्यबहादुर कार्की, दिपिन थापा, चन्द्रकला आचार्य, बिनिता थापा र पदमबहादुर थापा रहेका छन्।

    समितिको अधिवेशन निवर्तमान अध्यक्ष कट्टेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा व्यास–९ का वडाध्यक्ष एवम् समाजका संरक्षक सुरेश थापाले विद्यालयको समग्र विकासमा पूर्व विद्यार्थी समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयको गुणस्तर अभिवृद्धिका लागि निरन्तर योगदान दिनुपर्नेमा जोड दिए। उनले भने, “हामी जहाँ भएपनि सबैको दृष्टि विद्यालयप्रति रहनु जरुरी छ। त्यसैले मात्र सुधारको आशा गर्न सकिन्छ।”

    सोही अवसरमा विद्यालयका प्रधानाध्यापक अमृत थापाले विद्यालय सुधारका लागि समाजसँग घनिष्ठ सहकार्य आवश्यक रहेको बताए। उनले विद्यालयको शैक्षिक स्तरमा केही सुधार भएको जानकारी दिँदै अतिरिक्त कक्षा व्यवस्थापनलगायतका विषयमा समाजको सक्रिय सहयोग अपेक्षा गरिएको उल्लेख गरे। साथै, विद्यालयप्रति अभिभावकको चासो कम भएको गुनासो गर्दै उनले निगरानी र संलग्नता बढाउन आग्रह गरे।

    निवर्तमान अध्यक्ष उद्धवराज कट्टेलले आफ्नो कार्यकालको प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयप्रति समुदायको धारणा अझ सकारात्मक बनाउन, पठनपाठनमा सुधार गर्न तथा अभिभावकलाई थप जागरुक बनाउन नयाँ कार्यसमितिलाई सुझाव दिए। साथै, विद्यालयका उत्पादनलाई रोजगारीसँग जोड्ने र “सिक्दै कमाउने” कार्यक्रम सञ्चालन गर्नेबारे सोच्न आग्रह गरे।

    भेलामा वडा सदस्य सन्तोष जिसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु आचार्य, पूर्व प्रधानाध्यापक शिवचन्द्र आचार्य, पूर्व विद्यार्थी संगम आचार्यलगायतले समाजले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गर्न सक्ने योगदानबारे आफ्ना विचार व्यक्त गरेका थिए।

    कार्यक्रममा स्वागत निवर्तमान कोषाध्यक्ष बसुन्धरा घर्तीले गरेकी थिइन् भने सञ्चालन सचिव विजय आचार्यले गरेका थिए।

    २०७९ सालमा स्थापना भएको माहेन्द्री मावि पूर्व विद्यार्थी समाजले निरन्तर विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न गतिविधि गर्दै आएको छ। समाजले विद्यालयलाई रचनात्मक र सिर्जनात्मक सहयोग गर्ने उद्देश्य राख्दै विगतदेखि नै सक्रिय भूमिका खेल्दै आएको छ।