


काठमाडौ, १५ असोज ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तोकिएको भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गर्न निर्देशन दिएका छन्।
चाडपर्वको मौकामा बढी भाडा असुलिएको गुनासो आएपछि उनले यस्तो निर्देशन दिएका हुन्। चाडबाडको मौका छोपी स्वीकृत एवम् कानुनको प्रतिकूल हुने गरी निर्धारितभन्दा बढी भाडा लिइरहेको, टिकटको कालोबजारी गरेकोलगायत गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यस्ता यातायात व्यवसायीलाई तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
विषम परिस्थितमा यातायात व्यवसायीलगायत सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौकाका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न सम्बन्धित पक्षलाई मन्त्री घिसिङले आग्रह गरेका छन्।