


चितवन, १९ असोज। चितवनमा आज साँझ ६ बजेदेखि सवारी आवागमन बन्द हुने भएको छ । मनसुनको जोखिम कायमै रहेको भन्दै चितवन प्रशासनले आज साँझ ६ बजेदेखि भोलि विहानसम्मका लागि आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
नारायणघाट–मुग्लिन सडक खण्ड र मुग्लिन–मौवा खोला सडक खण्ड चितवनको बढी जोखिमपूर्ण सडक रहेका छन् । यहाँ जुनसुकै बेला पहिरो खस्ने संभावना भएकाले रातीमा सवारी आवागमन बन्द गर्न लागिएको हो
यसअघि हिजो साँझ ६ बजेदेखि पनि चितवनका सडक बन्द गरिएको थियो । रातिको समयमा बढी जोखिम हुने भएकाले आवागमन दुईतर्फी नै बन्द गर्ने निर्णय गरिएको हो । चितवन प्रहरीले चितवन आउन चाहनेले आज साझ ६ बजे भित्रमा चितवन आइसक्नु पर्ने र काठमाडौं, पोखरा जान चाहने सवारी साधन पनि ६ बजे भित्रमा चितवनबाट छुटी सक्नु पर्ने भनेको छ ।
यस्तै प्रहरीले ६ बजे भित्र चितवन प्रवेश गरेका सवारी साधनहरुलाई लेन अनुशासन पालना गरी सुरक्षित रुपमा रहन आग्रह गरेको छ । मौसमको अवस्था हेरेर आवागमन बारे थप जानकारी दिइने प्रहरीले जनाएको छ ।