


दमाैली, २१असाेज । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाइ मन्दिरमा असोजको तेस्रो मङ्गलबार आज दुई वटामात्रै फूलको डोली भित्रिएको छ । जिल्लाभित्रैबाट भक्तजनले ल्याएका दुई वटा फूलको डोली मन्दिरमा भित्रिएको थानीमाइ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
दसैंको प्रभावका कारण मन्दिरमा दुई वटा मात्रै फूलको डोली भित्रिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए । उनले भने, “कोजाग्रत पूर्णिमासँगै हिजो सोमबारबाट दसैं सकिएको छ । त्यसकै प्रभावका कारण आज मन्दिरमा निकै कम फूलको डोली भित्रिएको हो ।”
प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।
उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।