


दमौली, ३१ असोज । म्याग्दे गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा कृषकहरु सयपत्री फूल खेतीतर्फ लागेका छन् । गाउँपालिकाले फूल खेतीमा प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहका कृषक सामूहिक सयपत्री फूलखेतीमा लागेका हुन् ।
तरकारी तथा अन्य फलफूलखेती गरिरहेका कृषक पहिलो पटक सयपत्री फूलखेतीतर्फ लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिइन् । पालिकाका विभिन्न ठाउँका कृषकहरुले सयपत्री फूल उत्पादन गरी विक्री गरिरहेको जानकारीमा भएपनि फूलखेतीबारे आवश्यक जानकारी नहुँदा विगतका वर्षमा यसमा आबद्ध नभएको उनले बताइन् ।
रानाले भनिन्, “पहिला पहिला अरुले गरेको फेसबुकमा हेथ्र्यौ, हामीलाई पनि सयपत्री फूल खेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौं, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौ ।”

समूहमा आबद्ध २३ जना कृषक यसमा संलग्न छन् । छ रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेको रानाले बताइन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको छ । बजारबाट माग आउन थालिसकेको उनले बताइन् । उनका अनुसार पोखरा, खैरेनीटारबाट माग भइसकेको छ ।

उनले भनिन्, “सुरुमा त फूल उत्पादन भएपछि कहाँ विक्री गर्ने होला भन्ने पनि लागेको थियो, तर अहिले ढुक्क भएको छ । माग आउन थालिसकेको छ । बजारको समस्या हुँदैन ।” उनका अनुसार सयपत्री फूल प्रति किलो रु तीन सय र प्रति माला रु एक सय ५० मा विक्री हुन्छ ।
समूहका सचिव महेन्द्र रानाले कात्तिक २ गतेबाट फूल टिपेर विक्री गरिने जानकारी दिए । उनका अनुसार पोखराबाट तीन सय किलो फूलको अर्डर भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको जानकारी दिए । गत वर्ष वडा नम्बर ६ मा सयपत्री फूलखेतीलाई सहयोग गरेको बताउँदै श्रेष्ठले यस वर्ष वडा नम्बर ४ का महिलाहरुलाई सहयोग गरिएको उल्लेख गरे ।
गाउँपालिकाभित्र हुने सबैखाले कार्यक्रममा यहाँ उत्पादित फूल प्रयोग गरिने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले तिहारमा बाहिरको भन्दा स्थानीय स्तरमै उत्पादित फूललाई प्रयोग गरी प्रोत्साहन गर्न आग्रह गरे ।