


दमाैली, ४ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित भित्री बजारमा गएराति एक घरमा आगलागी हुँदा दुई पसल जलेर पूर्ण रुपमा क्षति भएको छ । स्थानीय बद्री श्रेष्ठको तीन तल्ले पक्की घरको भुइँतलामा राति ८ः१५ बजे आगलागी हुँदा दुई वटा पसल जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लक्ष्मीपूजा गर्न बालेको दियोबत्तीबाट आगो सल्किदा भुइँतल्लामा रहेका दुई वटा सटरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
आगलागीबाट घरधनी श्रेष्ठले सञ्चालन गरेको बबिन फेन्सी पसल र दिपक परियारले सञ्चालन गरेको दिपक सुटिङ एण्ड ड्रेस हाउसमा पूर्ण रुपमा क्षति पुगेको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रनाउ विकले बताए ।
प्रहरी र स्थानीयको सहयोग तथा शुक्लागण्डकी नगरपालिकाको वारुणयन्त्रको सहयोगमा ८ः५० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।