


तनहुँ, १३ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना कृषक मिलेर पहिलो पटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा स्थानीय फूलको माग पूरा गर्ने र फूलखेतीबाट आम्दानी गर्ने उद्धेश्यले उनीहरूले पाँच रोपनी क्षेत्रफलमा सयपत्री लगाएका हुन् ।
स्थानीय पदमराज काफ्ले, मैना आले मगर, सीता श्रेष्ठ, नरबहादुर आले, दुर्गा वि क, हरि माया आलेको सामूहिक प्रयासमा सुरु गरिएको फूलखेतीमा आठ हजार सयपत्रीका बिरुवा रोपिएको छ । तिहार नजिकिँदै गर्दा फूल फुल्ने र बजारमा बिक्री हुने अपेक्षासहित कृषकहरू खेतीको हेरचाहमा जुटेका छन् ।
फूलखेतीमा संलग्न स्थानीय मैना राना आलेले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् । चाडपर्वका बेला फूलको माग बढ्ने भएकाले स्थानीय स्तरमै सयपत्री उत्पादन गरेर बजारको माग पूरा गर्न सकिने उनको विश्वास छ ।
उनले तिहारमा पूजाआजा तथा घर सजावटका लागि प्रयोग हुने फूल स्थानीय किसानबाटै खरिद गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । स्थानीय फूलको प्रयोग बढाउन सके किसानलाई आम्दानीको अवसर मिल्नुका साथै बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता पनि कम गर्न सकिने उनको भनाइ छ ।
फूलखेतीमा संलग्न अर्की कृषक सीता श्रेष्ठले आँबुखैरेनी गाउँपालिकाले फूलखेतीका लागि प्रोत्साहन गरेपछि आफूहरू यसतर्फ आकर्षित भएको बताइन् । तिहार नजिकिँदै गएकाले उत्पादनले बजार पाउनेमा आफूहरू विश्वस्त रहेको उनले बताइन् ।
आँबुखैरेनी गाउँपालिकाले स्थानीय कृषकलाई फूलखेतीतर्फ आकर्षित गर्न प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखाका प्रमुख सन्तोष केसीका अनुसार सयपत्री फूलको बजार सम्भावना रहेकाले कृषकहरू यस खेतीतर्फ आकर्षित भएका हुन् ।
तिहारका बेला सयपत्री फूलको माग बढ्ने भएकाले स्थानीय स्तरमा उत्पादन विस्तार गर्न सके किसानले आम्दानीको अवसर पाउने कृषि शाखा प्रमुख केसीको भनाइ छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके फूलखेती कृषकका लागि आम्दानीको वैकल्पिक माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ ।