तनहुँ : फाँटको छेउमा पुगेर हेर्दा सुसाउँदै कालीगण्डकी अविरल बगिरहन्छ । नदी किनारको माथिपट्टी उराठलाग्दो फाँट छ । कालीगण्डकी तीरदेखि दुई सय मिटर माथिको रुपटार फाँटमा सिंचाईको सुविधा पुगेर लहलह धान झुलेको हेर्ने धोको छ सुशीला गिरीलाई । सुशीला मात्र कहाँ हो र ? तनहुँको ऋषिङ गाउँपालिका–५ रुपटारीबासी पनि यस्तै सपना देख्छन् ।
‘खेतको आलीमा बसेर लहलह झुलेको पहेंलेपुर धान हेर्ने धोको कति हो कति छ । हाम्रै पुस्ताले देख्न पाए हुन्थ्यो,’ उहाँ भन्नुहुन्छ, ‘सपना मात्रै हुन्छ कि ?’ यहाँको सुन्दर फाँटमा सिचाइँ सुविधा छैन् । उर्वर फाँटमा सिचाइँ अभावले मुख्य बालीका रुपमा मकै र मास मात्र उत्पादन हुन्छ । ‘दुई खेती भन्दा हुँदैन, भात खानलाई चामल र तरकारी बजारबाटै बेसाउनुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘मकै र मास मात्र फल्छ । त्यही बेचेर चामल किन्ने हो ।’
वैशाखमा यहाँ मकै छरिन्छ । साउनमा मकै भाँचेपछि मास लगाईन्छ । कात्तिकमा मास थन्काएपछि वैशाखसम्म करिब दुई सय हेक्टर क्षेत्रफलमा फैलिएको फाँट बाँझै रहन्छ । यहाँका ९५ प्रतिशतले बजारबाट बेसाएको चामलको भरमा दुई छाक भात खाने हो । नत्र मकैको आटो र मासको दाल । नवलपुर कालीपारमा खेत हुनेहरुले मात्रै आफैँले उब्जनी गरेको चामल उपभोग गर्छन् ।
सुन्नुहोस यसै सम्बन्धि रिपोर्ट
सिचाइँ सुविधा भए रुपटारको फाँटमा सजिलै तीन बाली लगाउन मिल्ने गिरीले सुनाउनुभयो । सिचाइँ भएको खण्डमा हिउँदमा गहुँ, तोरी, केराउ, चना, मुसुरो जस्ता बाली लगाउन सक्ने उहाँले बताउनुभयो । तीन खेती गर्न पाए स्थानीय गरिबीको रेखामुनिबाट माथि उठ्ने सुशीलाको विश्वास छ । उहाँले अगाडी थप्नुभयो, ‘उब्जनीका लागि पानी प्रशस्त चाहिन्छ । सुख्खा भएपछि के फल्छ र ।’ पहिला चामलको लागि यहाँ घैय्या खेती पनि गरिन्थ्यो । सिचाइँ नपुगेको पाखो बारीमा लगाउने घैय्या पछिल्ला वर्ष भने समयमै पानी नपरेर उत्पादन घट्दै गएकाले लगाउन छोडेको गिरीले बताउनुभयो ।
अर्का किसान ढोलबहादुर दरैले सिचाइँको सुविधा भईदिए सुख्खा फाँट हराभरामा परिणत हुने बताउनुभयो । ‘भईदियो भने मकै राम्रै फल्छ, धानको त गेडो फल्दैन । सिचाइँको सुविधामा भएको भए धान खेती गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । परिवारका सदस्य वैदेशिक रोजगारीमा गएकाले चामल सहजै खरिद गरेपनि ज्याला मजदुरीको भरमा दैनिक गुजारा चलाउने परिवारलाई धौधौ हुने उहाँले सुनाउनुभयो । कालीगण्डकी नदीको पानी रुपटारको फाँटमा सिचाइँ गर्ने व्यवस्था मिलाएमा रुपटारवासीको जीविकोपार्जनमा सघाउ पुग्ने दरैको भनाई छ ।
गाउँमै कृषिमा आत्मानिर्भर भएर छोरा नाति विदेशिन नपरे हुन्थ्यो जस्तो लाग्छ स्थानीयलाई । उर्वरभूमि बाँझै राखेर गाउँका युवा वैदेशिक रोजगारमा जान बाध्य भएको स्थानीय शिक्षक कृष्ण गिरीले बताउनुभयो । ‘अहिले निर्वाहामुखी खेती भईरहेको छ । सिचाइँ हुने हो भने यहीँ खेतीपाती गरेर आत्मानिर्भर हुन सक्छौँ,’ उहाँले दावी गर्नुभयो ।
बहुदल आएपछिको हरेक पटक चुनावमा उम्मेदवारहरु रुपटारमा सिचाइँ सुविधाको सपना देखाँउदै पुगे । तर, पूरा कहिल्यै भएन । यसपाली गण्डकी प्रदेश सरकारले चालु वर्षको बजेटमा रुपटार भूमिगत सिचाइँका लागि ११ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकमले सिचाइाको काम सम्पन्न नभएपनि थोरै आशा पलाएको गिरीले उल्लेख गर्नुभयो ।
कालीगण्डकी किनारका फाँटहरुमा फल्ने मास स्वादिष्ट हुँदा बजारमा राम्रै माग थियो । दुई वर्षयता मास पनि त्यति बिक्री नभएको गिरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘किराले सताएर उत्पादन घटेको छ । अर्कोतिर विदेशको मासले विस्थापित गराउँदा मूल्य नै पाइएन ।’ दुई वर्ष अगाडी ६ सय रुपैयाँ पाथीमा मास बिक्री भएकामा यो वर्ष ३ सय रुपैयाँ पाथीमा पनि बिक्री नभएको उहाँले बताउनुभयो ।
रुपटार फाँटमा सिचाइँको सुविधा भए कृषि उत्पादनको निकै सम्भावना भएको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बताउनुहुन्छ । त्यहाँ सिचाइँ आयोजना सञ्चालन गर्न गाउँपालिकाको बजेटले नभ्याउने कारण संघ र प्रदेश सरकारलाई सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । तस्बिर सौजन्य : अनुष गिरी