


दमौली, ७ मंसिर । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको चार महिनामा पूँजीगततर्फ ६ प्रतिशत खर्च गरेको छ । साउनदेखि कात्तिक मसान्तसम्म पूँजीगततर्फ ६.४२ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।
यस्तै चालुतर्फ २७.६८ प्रतिशत खर्च भएको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।
नगरपालिकाको कुल आय २२ प्रतिशत, भौतिक प्रगति २८.६२% भएको जनाइएको छ ।
यस्ता छन् कार्यपालिका बैठकका निर्णय
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले नगरपालिकामा भूमि बैंक स्थापना गर्नका लागि हालसालै संशोधित भूमि सम्वन्धी नियमावली २०८२ अनुसार नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन उप-प्रमुख इन्दिरा दरैको संयोजकत्वमा मनाउने निर्णय गरिएको छ ।
व्यास नगरपालिका उर्जा विकास उप-समिति गठन तथा सञ्चालन कार्यविधि-२०८२ पारित गरि उक्त उप-समितिमा वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खलेको संयोजकत्वमा ५ सदस्यीय उप-समिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकले व्यास-५ भागर क्षेत्रको ढुंगा, गिटी वालुवा उत्खनन् सम्वन्धि वातावरणीय अध्ययन प्रतिवेदन सुझाव सहित पारित गर्ने निर्णय गरेको छ ।
तनहुँ विद्युत परियोजना अन्तरगत् विद्युत प्रसारण लाइन रहने प्रभावित वडा नं. १, १२, १३ र १४ मा उद्यमशिलता तालिम सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकावाट विद्युतीय बोलपत्रबाट आव्हान भएका विभिन्न ६ वटा ठेक्काहरु स्वीकृत गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

