


दमौली, १९ मङ्सिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय यु–१६ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलबाट तालवेसी मावि र आयोजक नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।
मीन माविलाई हराउँदै तालवेसी सेमिफाइनल पुगेको छ । तालवेसीले मीन माविलाई ३–१ गोलले पराजित गरेको छ । तालवेसीका कृष्ण थापाले तीन र मीनका निशान शाहीले एक गोल गरे ।
यस्तै नेपाल आदर्श माविलाई ३–२ गोलले हराउँदै आयोजक नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको छ । नेपाल पुलिसका राम क्षेत्रीले दुई र सुजल पराजुलीले एक गोल गरे । नेपाल आदर्शका विधान थापा र अमर गुरुङले एक–एक गोल गरे ।
यस्तै आजै भएको खेलमा ज्ञान बगैँचा बोर्डिङ स्कुलले बाल विद्या सेकेण्डरीलाई ३–१ ले पराजित गरेको छ । यस्तै कञ्चनजङ्घा सेकेण्डरी स्कुलले लिटल गार्डेन बोर्डिङ स्कुललाई २–० ले पराजित गर्यो । ज्ञान बगैँचा र कञ्चनजङ्गा क्वाटरफाइनल प्रवेश गरेको छ ।
विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यसहित मङ्सिर २१ गतेसम्म आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । खेलभावना विकास, अनुशासन र नेतृत्व क्षमता वृद्धि, प्रदेशका विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउन, उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य रामचन्द्र शाहीले जानकारी दिअ ।
प्रतियोगितामा विजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु चार हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
