


दमौली, १२ पुस । व्यास नगरपालिका–३ महर्षिचोक नजिक पार्किङ गरी राखिएको स्कुटर चोरी भएको घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार राति करिब १०ः३० बजे व्यास नगरपालिका–४ बस्ने रणबहादुर बस्नेतले आफूले काम गर्ने विज्ञान प्रिन्ट नजिकै पार्किङ गरी राखेको ग ८ प ८९६४ नम्बरको स्कुटर चोरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका वडा एरियाबाट खटिएको प्रहरी टोलीले तदारुकताका साथ खोजतलास कार्य सुरु गरेको थियो। सोही क्रममा मिति शुक्रबार बिहान करिब ३ः०० बजे मुग्लिन पुल नजिकैबाट खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटरसहित जिल्ला नुवाकोट बिदुर नगरपालिका–६ बस्ने २७ वर्षीय अभिषेक थापा मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
