


दमौली, ८ फागुन । तनहुँको व्यास नगरपालिका-१ मा सडक समस्यालाई लिएर सामाजिक अभियान्ता अविनाश पन्थले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
दमौली–छाब्दी मुख्य सडकखण्डअन्तर्गत करिब २०० मिटर क्षेत्रमा एमसिसी विद्युत् प्रसारण आयोजनाका क्रममा टिप्परमार्फत माटो ओसारपसार गर्दा सडक अत्यधिक धुलाम्य तथा हिलाम्य बनेको भन्दै स्थानीयवासीबाट जनगुनासो आएपछि पन्थले वडा कार्यालयमा औपचारिक ध्यानाकर्षण गराएका हुन् ।
उक्त अवस्थाका कारण स्थानीय बासिन्दा तथा छाब्दी बाराही मन्दिरका दर्शनार्थीलाई आवतजावतमा सास्ती भोग्नुपरेको, सवारी दुर्घटनाको जोखिम बढेको तथा सडकको आयु घट्ने खतरा उत्पन्न भएको उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । साथै, नियमित सरसफाइ, क्षतिग्रस्त सडकको मर्मत तथा आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
“विकास निर्माण जनहितमै हुनुपर्छ,” भन्ने धारणा राख्दै पन्थले समस्याको शीघ्र समाधानका लागि वडा कार्यालयमार्फत सम्बन्धित आयोजना तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न अनुरोध गरेका छन् ।