


तनहुँ १८ भदाै । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका नागरिकहरूको खोजी कार्यलाई सहज र प्रभावकारी बनाउन आँबुखैरेनी गाउँपालिकाले सम्बन्धित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।गाउँकार्यपालिकाको बैठकले सम्पर्कविहीन नागरिकहरूको खोजी कार्यमा सम्बन्धित निकायसँग समन्वय गरी सहयोग पुर्याउने उद्देश्यले प्रति परिवार रु २५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
बाढीपछि हालसम्म सम्पर्कविहीन रहेका नागरिकहरूमा आँबुखैरेनी गाउँपालिका–३, तनहुँका हरिचन्द्र खड्का, शहीद लखन गाउँपालिका–१, गोरखा स्थायी घर भई हाल आँबुखैरेनी–३ बसोबास गर्दै आएका पुकार थापा, गोरखा नगरपालिका–३ स्थायी घर भई हाल आँबुखैरेनी–३ बस्दै आएका टेकबहादुर अधिकारी तथा गोरखा नगरपालिका–१४ स्थायी घर भई हाल आँबुखैरेनी–३ बसोबास गर्दै आएका डिलबहादुर पन्त क्षेत्री रहेका छन्।