तनहुँ–१ मा प्रस्तावबारे दीपकराज जोशीको खण्डन, “भ्रमपूर्ण हल्ला फैलाइयो”
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा प्रस्तावबारे दीपकराज जोशीको खण्डन, “भ्रमपूर्ण हल्ला फैलाइयो”

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले आफूलाई नेपाली कांग्रेसमा आउन प्रस्ताव गरिएको भन्ने चर्चा भ्रमपूर्ण र आधारहीन रहेको बताएका छन्। घरदैलो कार्यक्रमका क्रममा नेपाली कांग्रेस तनहुँका नेता तथा उम्मेदवार स्वयंले पार्टी प्रवेश गराएर भानु नगरपालिकाको मेयर, व्यास नगरपालिकाको मेयर तथा प्रदेश सांसदको जिम्मेवारी दिने प्रस्ताव गरिएको भन्ने हल्लाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन्।

    जोशीले जारी गरेको स्पष्टिकरणमा नेपाली कांग्रेसबाट यस प्रकारको कुनै औपचारिक वा अनौपचारिक प्रस्ताव तथा छलफल आफूहरूसँग नभएको उल्लेख गरेका छन्। “यस विषयमा मसँग कसैको कुनै सम्पर्क, छलफल वा प्रतिवद्धता भएको छैन,” उनले भने।

    उनका अनुसार विगतमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पहिले पार्टीका उम्मेदवारलाई विजय गराएपछि मात्र भूमिकाबारे छलफल गर्ने निर्णय गरेको थियो। “जनताको मतलाई सर्तसँग बाँधेर व्यक्तिको राजनीतिक अस्तित्वलाई परिणामसँग जोड्ने प्रस्ताव लोकतान्त्रिक अभ्यास होइन, रणनीतिक दबाब मात्र हो,” उनले स्पष्ट पारे। सो निर्णय आफूहरूले त्यतिबेलै अस्वीकार गरेको पनि उनले बताए।

    निर्वाचन नजिकिँदै जाँदा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै जोशीले मतदातालाई सत्यतथ्यका आधारमा निर्णय लिन आग्रह गरेका छन्। “हामी विगत २० वर्षदेखि स्वच्छ, वैकल्पिक र जनमुखी राजनीतिको लागि संघर्षरत छौं। राजनीति पद वा अवसरका लागि होइन, परिवर्तन र जिम्मेवार नेतृत्वका लागि हो,” उनले उल्लेख गरेका छन्।

    जोशीले आफूलाई कुनै प्रकारको लेनदेनको प्रस्ताव नआएको स्पष्ट गर्दै राजनीतिक विश्वास पारदर्शिता, सिद्धान्त र जनताको सम्मानमा आधारित हुनुपर्ने धारणा व्यक्त गरे। साथै उनले तनहुँ–१ का मतदातालाई भ्रामक प्रचारमा नपरी आफ्नो चुनाव चिन्ह ‘कैंची’मा मतदान गर्न अपिल गरेका छन्।