


दमौली, १२ फागुन । आगामी प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढेसँगै तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधिले तीव्रता पाएको छ । यसै क्रममा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘तारा’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका उम्मेदवार विद्या ढकालले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो र मतदाता भेटघाटलाई तीव्र बनाएका छन् ।
मंगलबार ढकालले बन्दिपुर गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । उम्मेदवार ढकालले बन्दिपुर गाउँपालिका वडा नं. ५ र ६ का विभिन्न स्थानहरूमा पुगी मत मागे । उनले बन्दिपुरका बस्तीहरूमा पुगेर स्थानीयका समस्या सुन्नुका साथै आफ्नो योजना सुनाएका थिए । भेटघाटका क्रममा स्थानीय मतदाताहरूबाट उत्साहजनक साथ प्राप्त भएको ढकालले बताए ।
मतदाताहरूसँगको छलफल र अन्तरक्रियामा ढकालले नीतिगत सुधार र स्थानीय विकासलाई जोड दिएका छन् । अलपत्र अवस्थामा रहेको ‘घुमाउने पुल’ निर्माणलाई तदारुकताका साथ अगाडि बढाउने जनाएका छन् । प्राविधिक शिक्षाको विस्तार र स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने उनको प्रतिबद्धता छ । बन्दिपुरको पर्यटनलाई व्यावसायिक बनाउँदै स्थानीयको आर्थिक अवस्था सुधार्ने उनको योजना छ ।
देशको समग्र विकासका लागि संसदमा प्रभावकारी नीतिगत हस्तक्षेप गर्ने पनि उनले बताएका छन् । दिनभर बन्दिपुर क्षेत्रमा व्यस्त रहेका ढकालले जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामी कुरा होइन, काममा विश्वास गर्छौं,’ उनले भने, ‘यसपटक तनहुँ–१ का जनताले परिवर्तन खोजेका छन् र त्यसको संवाहक चारा चिन्ह हुनेछ ।’