


दमौली, १८ फागुन । उज्यालो नेपाल पार्टीबाट तनहुँ–१ का उम्मेदवार मन्जिल रानालाई विजयी गराउन युवाको समूहले सोमबार फागुपूर्णिमाको अवसर पारेर मतदातासँग रमाइलो वातावरणमा घरदैलो अभियान सञ्चालन गरेका छन्।
रंग र उत्साहबीच गरिएको घरदैलोमा युवाहरूले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन मागेका थिए। फागुपूर्णिमाको माहोललाई सदुपयोग गर्दै उनीहरूले विकास, रोजगारी र पारदर्शी नेतृत्वको एजेण्डा प्रस्तुत गरेका छन्।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा उम्मेदवार रानाले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका हुन्। अभियान अन्तिम चरणमा पुगेको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उनको दाबी छ।
उम्मेदवार रानाले तनहुँका विभिन्न गाउँ तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेको उल्लेख गर्दै अबको परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेका छन्। “सबै ठाउँमा पुगेर मतदातासँग भेटघाट गर्दा जित निश्चित देखिएको छ,” रानाले भने।
तनहुँ–१ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेको अवस्थामा उम्मेदवारहरू आ–आफ्नो अभियानलाई अन्तिम घडीसम्म सक्रिय बनाइरहेका छन्।