


दमौली, २० फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ जिल्लाका सबै मतदान केन्द्रमा आज सर्वदलीय बैठक सम्पन्न गरिएको छ । निर्वाचन सामग्री सहित मतदान केन्द्र पुगेका मतदान अधिकृतले मंगलबार सबै मतदान केन्द्रमा सर्वदलीय बैठक सम्पन्न गरेका हुन् ।
शुक्लागण्डकी नगरपालिका–९ तालवेशी मावि मतदान केन्द्रका मतदान अधिकृत प्रदीप न्यौपानेले सबै पक्षको उपस्थितिमा बैठक बसी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए । यस्तै मतदान केन्द्र निर्माणको कामलाई पनि अगाडी बढाइएको छ ।

बन्दीपुर गाउँपालिका–१ नाहालास्थित विष्णु मावि मतदान केन्द्रका मतदान अधिकृत निर्मला कुंवरले सर्वदलीय बैठक बसी निर्वाचन सहज रुपमा सम्पन्न गराउने सहमति भएको जानकारी दिइन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले सबै मतदान केन्द्रका लागि निर्वाचन सामग्री वितरण गरी कर्मचारीलाई मतदान केन्द्र खटाइएको जानकारी दिए ।
तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी २७ उम्मेदवार प्रतिस्पर्धामा छन् । तनहुँ क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार चुनावी दौडमा छन् ।
जिल्लामा एक सय ४४ मतदान स्थल र तीन सय नौ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र एक सय ५६ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २६ हजार आठ सय ८२ र र क्षेत्र नम्बर २ तर्फ एक लाख २७ हजार पाँच सय १५ मतदाता कायम भएका छन् । क्षेत्र नम्बर १ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय ७८ र महिलाको सङ्ख्या ६५ हजार एक सय चार रहेको छ । क्षेत्र नम्बर २ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय १३ र महिलाको सङ्ख्या ६५ हजार आठ सय दुई रहेको छ ।
क्षेत्र नम्बर १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नम्बर २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ ।