अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्मान र अन्तरक्रिया
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सम्मान र अन्तरक्रिया

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८२, आईतवार

    दमाैली, २४ फागुन । तनहुँको सदरमुकाम दमौलीमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ। ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

    संयुक्त राष्ट्रसंघबाट तय गरिएको नारा “Give to Gain” “सबै महिलाहरूको लागि अधिकार, न्याय र प्रभावकारी कार्यान्वयनलाई प्राप्त गर्ने अवस्था सिर्जना गरौं” भन्ने नारालाई सार्थक बनाउन अन्तरक्रिया एवं सम्मान कार्यक्रम आयोजना गरिएको तनहुँ जिल्ला बार इकाइ अध्यक्ष अधिवक्ता सरिता भण्डारीले बताइन्।

    भण्डारीका अनुसार सामाजिक क्षेत्रमा सक्रिय भगवती श्रेष्ठ, आफ्नो अधिकार प्राप्तिका लागि निरन्तर कानुनसँग लडिरहने पार्वती श्रेष्ठ र अटो चालक बुद्धिमाया मौरातीलाई सम्मान गरिएको छ। समाजमा श्रेष्ठद्वय र मौरती जस्ता थुप्रै महिला पात्र रहेको र कार्यक्रममा प्रतिनिधिमूलक तीन महिलालाई सम्मान गरेको भण्डारीको भनाइ रहेको थियो ।

    कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँ, तनहुँ जिल्ला अदालत बार इकाई, लायन्स क्लब अफ तनहुँ, सेतो गुराँस बाल विकास सेवा तनहुँ र सार्थक मिलन नेपाल तनहुँ को संयुक्त आयोजनामा गरिएको हो।

    महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँकी अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सेतो गुराँस बाल विकास सेवा तनहुँकी अध्यक्ष सुशीला शर्मा, सार्थक मिलन नेपाल तनहुका अध्यक्ष मिलन भुजेल, आदिवासी जनजाति महासंघ तनहुँका पूर्व अध्यक्ष बसुन्धरा घर्ती, जिल्ला प्रहरी कार्यालय तनहुँ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र प्रमुख दिपा खत्री, लायन्स क्लब तनहुँ सत्यवतीकी अध्यक्ष सीता वैद्य, महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँका सचिव एवं सञ्चारकर्मी अन्जना तिमल्सेना लगायतले महिला सशक्तीकरण केवल महिलालाई अधिकार दिनु मात्र नभई उनीहरूलाई शिक्षा, रोजगारी, नेतृत्व र निर्णय प्रक्रियामा समान अवसर प्रदान गर्नु भएको बताए ।

    जब महिला सशक्त हुन्छिन्, परिवार सशक्त हुन्छ, समाज सशक्त हुन्छ र देश सशक्त हुने उनीहरूको भनाइ रहेको थियो । महिलामाथि हुने हिंसा, भेदभाव र अन्यायलाई अन्त्य गर्न दृढ प्रतिबद्धता जनाउनु पर्नेमा वक्ताहरूको जोड थियो। समानता, सम्मान र न्यायपूर्ण समाज निर्माणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको उनीहरूले औल्याएका थिए ।