


दमौली, ३० फागुन । पाँचौँ शुक्लागण्डकी महोत्सव आगामी चैत ६ देखि १७ गतेसम्म भानुभक्त क्याम्पस परिसरमा आयोजना हुने भएको छ। महोत्सव मूल आयोजक समितिका अध्यक्ष समुद्रराम श्रेष्ठका अनुसार महोत्सवको तयारी करिब ९० प्रतिशत पूरा भइसकेको छ।
महोत्सवमा कृषि, घरेलु उद्योग र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ। स्थानीय उत्पादनको बजारीकरण तथा क्षेत्रका पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले कृषि तथा घरेलु उद्यमका स्टलहरूलाई विशेष स्थान दिइने आयोजकले जनाएको छ। कुल १७५ वटा स्टल रहने छन्।
आयोजकका अनुसार महोत्सव अवधिमा करिब २ लाख दर्शक तथा पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने करिब ६ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ।
महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू पनि समावेश गरिएका छन्। पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः २ लाख, १ लाख र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई ५/५ हजार रुपैयाँ दिइनेछ।
यसैगरी नृत्य प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। रत्यौली प्रतियोगितामा प्रथम २५ हजार, द्वितीय २० हजार र तृतीय १५ हजार रुपैयाँ पुरस्कार तोकिएको छ।
महोत्सवमा टिकटक रिल प्रतियोगिता पनि आयोजना गरिने महोत्सवका प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।