


दमाैली, ३ वैशाख । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ साल वैशाख ३ गते बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेकी एक महिलालाई नियन्त्रणमा लिइएको हो। उनलाई सम्मानित जिल्ला अदालत तनहुँले ७ दिन कैद र रु २ लाख जरिवाना तोकेको थियो। पक्राउपछि उक्त महिलालाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
यस्तै, चोरी उद्योग मुद्दामा फरार रहेका एक पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनलाई अदालतले १७ दिन कैद र रु ५ हजार जरिवाना तोकेको थियो। नियन्त्रणमा लिएपछि उनले कैद भुक्तान गर्नुका साथै जरिवाना रकम तिरी रिहा भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।