तनहुँमा घरमै पुगेर राहदानी वितरण सेवा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा घरमै पुगेर राहदानी वितरण सेवा सुरु

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०८३, शुक्रबार

    दमौली, ४ वैशाख । तनहुँ जिल्लामा पहिलोपटक घरमै पुगेर सेवाग्राहीलाई राहदानी उपलब्ध गराइएको छ । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची अन्तर्गत हुलाकमार्फत् सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न जिल्लामा पहिलोपटक राहदानी सेवा घरमै वितरण गरिएको हो ।

    तनहुँको व्यास नगरपालिका–५ बरबोटे निवासी समिक्षा ओझालाई प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आज घरमै पुगेर राहदानी उपलब्ध गराएका छन् ।

    सरकारले जारी गर्ने प्रमाणपत्रहरु घरमै पुगेर उपलब्ध गराउने निर्णय बमोजिम जिल्लामा राहदानीबाट सो सेवा सुरु गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी तिवारीले हुलाक कार्यालयमार्फत् सेवा घरदैलो पु¥याउने बताउँदै थपे, “सेवा प्रदान गर्ने कार्यालयहरुले प्रमाणपत्रहरु हुलाक कार्यालयलाई हस्तान्तरण गर्ने र हुलाक कार्यालयले सम्बन्धित व्यक्तिको घरमा पु¥याउने व्यवस्था मिलाइएको छ ।”

    उनका अनुसार सेवा लिन आउने बेलामा नै सेवाग्राहीलाई यो सेवा कार्यालयमा आएर लिने वा घरमै लिने भनेर फारम भराइन्छ । त्यसकै आधारमा सेवा दिइने उनकाे भनाइ छ ।

    जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरिष उपाध्यायले सरकारको सय बुँदे कार्यसूचीको २७ नम्बर बुँदामा हुलाक कार्यालयलाई प्रभावकारी बनाउने भन्ने उल्लेख भएकामा सोही कार्यान्वयन गर्ने सन्दर्भमा तनहुँमा पहिलोपटक राहदानी घरमै पु¥याउने सेवा सुरु गरिएको जानकारी दिए। उनले पहिलो दिन आज सो वडाका चार जनालाई राहदानी घरमै लगेर प्रदान गरिएको छ ।

    सो सेवा कार्यान्वयनका लागि जिल्लाभरका हल्काराहरुको क्षेत्र निर्धारण गरिएको छ । उनले भने “जसरी चिठीपत्र वितरण गरिन्छ त्यसरी नै सरकारी कार्यालयबाट जारी हुने कागजपत्र घरमै पु¥याउन हामी तयार छौ ।”

    उनका अनुसार राहदानीका लागि फारम भर्ने बेलामा नै सेवाग्राहीलाई अर्को फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । परिचय खुल्ने विस्तृत विवरण, घरपहिचानको आधार, मोवाइल नम्बर सबै विवरण पहिल्यै नै लिने गरिएकाले घरमै पुगेर सेवा दिन सहज हुने उनकाे भनाइ छ ।

    घरमै राहदानी बुझेपछि समिक्षा ओझाले सरकारको निर्णयले सर्वसाधारणलाई सहज हुने प्रतिक्रिया दिइन् ।

    साे कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, हुलाकका कर्मचारी, पत्रकार महासंघ तनहुँका सचिव कृष्ण न्याैपाने लगायत सहभागी थिए ।