


दमौली, ६ जेठ । तनहुँका स्थानीय तहमध्ये आँबुखैरेनी गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को विवरण अनुसार जिल्लामा सबैभन्दा बढी बेरुजु आँबुखैरेनी गाउँपालिकाको रहेको छ । त्यस्तै सबैभन्दा कम बेरुजु भिमाद नगरपालिकाको रहेको छ ।
आँबुखैरेनी गाउँपालिकाको ३.३६ प्रतिशत बेरुजु छ । उक्त आर्थिक वर्षमा गाउँपालिकाको रु चार करोड दुई लाख १९ हजार बेरुजु छ । त्यसअवधिमा रु एक अर्ब १९ करोड ८० लाख ४८ हजारको लेखापरीक्षण गरिएको थियो ।
भिमाद नगरपालिकाको बेरुजु भने ०.३१ प्रतिशतमात्रै छ । नगरपालिकाको रु एक अर्ब ५३ करोड ७४ लाख सात हजारको लेखापरीक्षण गरिएकामा रु ४७ लाख छ हजार बेरुजु रहेको छ ।
यस्तै व्यास नगरपालिकाको रु तीन अर्ब १९ करोड ६१ लाख ९४ हजारको लेखापरीक्षण गरिएकामा रु नौ करोड ५४ लाख ८२ हजार (२.९९ प्रतिशत), घिरिङ गाउँपालिकाको रु ९४ करोड ४३ लाख ९३ हजारको लेखापरीक्षण गरिएकामा रु ९१ लाख ३५ हजार (०.९७ प्रतिशत), देवघाट गाउँपालिकाको रु एक अर्ब छ करोड ८८ लाख ९७ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड ४३ लाख ५५ हजार (१.३४ प्रतिशत) बेरुजु देखिएको छ ।
शुक्लागण्डकी नगरपालिकाको रु दुई अर्ब ३७ करोड २३ लाख ५५ हजारको लेखापरीक्षण गरिएकामा रु चार करोड ७५ लाख ३२ हजार (२ प्रतिशत), ऋषिङ गाउँपालिकाको रु एक अर्ब २३ करोड चार लाख ३३ हजारको लेखापरीक्षण गरिएकामा रु एक करोड ५२ लाख ३२ हजार (१.२४ प्रतिशत), भानु नगरपालिकाको रु दुई अर्ब नौ करोड दुई लाख ७५ हजारको लेखापरीक्षण गरिएकामा रु चार करोड छ लाख ३६ हजार (१.९४ प्रतिशत), बन्दीपुर गाउँपालिकाको रु एक अर्ब १० करोड ६६ लाख ४० हजारको लेखापरीक्षण गरिएकामा रु तीन करोड पाँच लाख ८४ हजार र म्याग्दे गाउँपालिकाको रु एक अर्ब २९ करोड १६ लाख ३१ हजारको लेखापरीक्षण गरिएकामा रु दुई करोड ४० लाख ४० हजार (१.८६ प्रतिशत) बेरुजु रहेको छ ।