


दमौली, ६ जेठ । तनहुँ जिल्लाका सबै सामुदायिक विद्यालयमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने भएको छ । गत वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशन भएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ ले शिक्षा ऐन, २०२८ मा समेत संशोधन गरे बमोजिम शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा १ को खण्ड (ग) मा भएको व्यवस्था खारेज गरेकाले उक्त खण्ड (ग) बमोजिम मनोनित भएका विद्यालय व्यवस्थापन समिति स्वतः पदमुक्त भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जिल्लास्थित सबै विद्यालयहरुमा पुनः व्यवस्थापन समिति गठन गर्नुपर्ने जनाएको छ । इकाइ प्रमुख कृष्णप्रसाद श्रेष्ठले सामुदायिक विद्यालय वस्थापन समिति सम्बन्धमा विभिन्न स्थानीय तह र विद्यालयबाट सोधनी भएकाले उक्त कुरा प्रष्ट पारेका छन् ।