प्रतिक भन्छन् – प्रविधिको प्रयोगले अध्ययन शैलीमा परिवर्तन आयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रतिक भन्छन् – प्रविधिको प्रयोगले अध्ययन शैलीमा परिवर्तन आयो

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८३, बिहीबार

    दमौली, ७ जेठ । अमरसिंह माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दृष्टिविहीन विद्यार्थी तनहुँका प्रतिक पोखरेलले प्रविधिको प्रयोगले आफ्नो अध्ययन शैलीमा ठूलो परिवर्तन आएको बताएका छन्।

    उनका अनुसार सुरुका दिनहरूमा उनले अध्ययनका लागि ब्रेल लिपिको प्रयोग गर्थे। ब्रेलमा लेख्दा धेरै समय लाग्ने, लेखिएको सामग्री मेटिने, थिचिने वा हराउने समस्या हुने गरेको थियो। साथै, लेखिसकेपछि गल्ती पहिचान गर्न र सच्याउन पनि निकै कठिन हुने गरेको उनले बताए। आफूले तयार पारेका सामग्री समयमै अनुवाद नहुँदा मेहनतले पूर्णता नपाउने अवस्था समेत रहेको उनको अनुभव छ।

    कक्षा ८ देखि ल्यापटप र NVDA (NonVisual Desktop Access) सफ्टवेयरको प्रयोग सुरु गरेपछि भने उनको अध्ययन शैली पूर्ण रूपमा परिवर्तन भएको उनले बताए। अहिले डिजिटल माध्यमबाट नोट तयार गर्ने, अध्ययन गर्ने तथा गल्तीहरू तत्काल सुधार गर्न सकिने भएकाले अध्ययन थप सहज बनेको उनको भनाइ छ।

    “NVDA ले गल्ती हुनेबित्तिकै सचेत गराउँछ। यसले अध्ययनलाई सजिलो मात्र बनाएको छैन, स्वतन्त्र रूपमा सिक्ने आत्मविश्वास पनि दिएको छ,” उनले भने।

    प्रतिकका अनुसार प्रविधिले समय बचत गर्नुका साथै अध्ययनदेखि मनोरञ्जनसम्म सहज पहुँच दिलाएको छ। उनले ल्यापटपलाई आफ्नो भविष्य निर्माणको बलियो आधारका रूपमा लिएको बताएका छन्।