


दमौली १० जेठ । व्यास नगरपालिकाले दमौलीको सफासडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय लागू गरेपछि आन्दोलनमा उत्रिएका व्यवसायी र नगरप्रमुख वैकुण्ठ न्यौपानेबीच भएको छलफल सकारात्मक बनेको छ ।
पार्किङ निषेधको निर्णयले व्यापार व्यवसाय प्रभावित हुने भन्दै आइतबार सफासडकका व्यवसायीहरूले विरोध जनाएका थिए । त्यसपछि व्यवसायी प्रतिनिधि र नगरप्रमुख न्यौपानेबीच नगरपालिकामा वार्ता भएको हो ।
छलफल सकारात्मक भएको र समस्याको समाधानका लागि भोलि पुनः बैठक बसेर सुधारात्मक निर्णय गर्ने सहमति भएको दमौली बजार इकाइ सभापति शेषराज श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार व्यवसायीहरूले बजार क्षेत्रमा पूर्ण रूपमा पार्किङ निषेध गर्दा व्यापारमा प्रत्यक्ष असर पर्ने, ग्राहक आवतजावतमा समस्या हुने तथा बजार सुनसान बन्न सक्ने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए ।
नगरप्रमुख न्यौपानेले भने बजार व्यवस्थापन, ट्राफिक चाप नियन्त्रण तथा सडकलाई व्यवस्थित बनाउन पार्किङ व्यवस्थापन आवश्यक रहेको बताएका थिए । उनले व्यवसायीका सुझावलाई समेत ध्यानमा राखेर दुवै पक्षलाई स्वीकार्य हुने गरी समाधान खोजिने बताएका छन् ।
नगरपालिकाले आजदेखि लागू हुने गरी सफासडक क्षेत्रमा कुनै पनि सवारी साधन रोक्न निषेध गरेको थियो । उक्त निर्णयपछि व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।