कंगोमा ‘नेपाल प्रवर्द्धन साँझ’ : व्यापार, पर्यटन र लगानी प्रवर्द्धनमा महत्वपूर्ण पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    कंगोमा ‘नेपाल प्रवर्द्धन साँझ’ : व्यापार, पर्यटन र लगानी प्रवर्द्धनमा महत्वपूर्ण पहल

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८३, आईतवार

    दमाैली, १० जेठ । नेपाल सरकारको दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास (प्रजातान्त्रिक गणतन्त्र कंगोका लागि समेत समवर्ती मान्यता प्राप्त) तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कंगो (एनआरएनए एनसीसी कंगो) को संयुक्त आयोजनामा १५ देखि १९ मे २०२६ सम्म लुबुम्बाशी र किन्शासामा “नेपाल प्रवर्द्धन साँझ : व्यापार, पर्यटन तथा लगानीका अवसर” कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमअन्तर्गत विभिन्न महत्वपूर्ण कूटनीतिक, व्यावसायिक तथा औपचारिक भेटघाट सम्पन्न भएका छन्। एनआरएनए एनसीसी कंगोका अध्यक्ष विष्णु गिरीका अनुसार कार्यवाहक राजदूत रमेश कुमार चम्राकारले कंगोका विभिन्न सरकारी उच्च पदाधिकारीसँग भेटवार्ता गर्नुका साथै विभिन्न खानी कम्पनीहरूको भ्रमण गरेका थिए ।

    यसक्रममा सोमिका समूह अन्तर्गत सञ्चालित उद्योग तथा खानी क्षेत्रको समेत अवलोकन गरिएको थियो। भ्रमणका अवसरमा सोमिका माइनिङ कम्पनीका अध्यक्ष तथा उच्च व्यवस्थापनसँग नेपाली कामदारहरूको अवस्था, सुरक्षा, कार्य वातावरण, श्रम व्यवस्थापन तथा आपसी सहकार्यका विषयमा विस्तृत छलफल भएको बताइएको छ।

    छलफलका क्रममा नेपाल सरकारले लगानीमैत्री वातावरण निर्माण गरे आफूहरू नेपालमा लगानी गर्न इच्छुक रहेको धारणा समेत कम्पनी पक्षले व्यक्त गरेको जनाइएको छ।

    भेटघाटमा कंगोमा कार्यरत नेपालीहरूको अवस्था, रोजगारीका अवसर, सुरक्षा चुनौती, बसोबासका समस्या, कानुनी तथा प्रशासनिक प्रक्रियालगायत नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। साथै सम्बन्धित कम्पनी तथा सरोकारवाला निकायबाट नेपाली श्रमिकहरूको वर्तमान अवस्था, आवश्यकता तथा सुधारका सम्भावनाबारे प्रत्यक्ष जानकारी लिने कार्य समेत गरिएको बताइएको छ।

    सम्भवत: प्रजातान्त्रिक गणतन्त्र कंगोमा नेपाल सरकारका तर्फबाट यस प्रकारको विस्तृत फिल्ड भ्रमण, उद्योग अवलोकन तथा उच्चस्तरीय औपचारिक भेटघाट गर्ने पहिलो नेपाली सरकारी प्रतिनिधि कार्यवाहक राजदूत रमेश कुमार चम्राकार हुन सक्ने बताइएको छ।

    उक्त कार्यक्रम तथा भेटघाटले नेपाल र प्रजातान्त्रिक गणतन्त्र कंगोबीच व्यापार, पर्यटन, लगानी, वैदेशिक रोजगारी तथा श्रम कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै कंगोमा रहेका नेपाली समुदायका समस्या तथा सम्भावनालाई नेपाल सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने वातावरण निर्माण भएको विश्वास व्यक्त गरिएको छ।