‘व्यास नगरको विकासका लागि अन्तर्राष्ट्रिय क्लवसँग सहकार्य गर्न तयार’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘व्यास नगरको विकासका लागि अन्तर्राष्ट्रिय क्लवसँग सहकार्य गर्न तयार’

    खबरपुञ्ज संवाददाता

    १८ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय क्लवहरुसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । व्यास नगर युथ काउन्सिलले शुक्रबार भर्चुअल माध्यमबाट गरेको कोभिड–१९ नियन्त्रण र स्थानीय विकासमा अन्तर्राष्ट्रिय क्लवहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरको विकासका लागि अन्तर्राष्ट्रिय क्लवहरुलाई परिचालन गरिने बताउनुभयो ।

    लायन्स, रोटरी, रोट¥याक्ट, जेसीआई, लियो क्लवको सहयोग नगरपालिकाको विकासमा प्रयोग गरिने बताउँदै नगरप्रमुख न्यौपानेले भन्नुभयो, “अन्तर्राष्ट्रिय क्लवहरुसँग समन्वय गरेर अगाडी बढ्न थप छलफल गर्न तयार छौ । व्यासजन्मभूमिको विकासका लागि नगरपालिका सदैव तयार रहेको उल्लेख गर्नुहुँदै नगरप्रमुख न्यौपानेले उक्त अभियानमा सबै जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो । नगर प्रमुख न्यौपानेले कोभिड–१९ नियन्त्रण अभियानमा नगरपालिकाभित्र क्रियाशील अन्तर्राष्ट्रिय क्लवहरुले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

    उक्त क्रममा नगरप्रमुख न्यौपानेले कोभिड–१९ नगरको विकासको बाधक बनेको बताउनुभयो । कोभिड–१९ को कारणबाट भएको बन्दाबन्दीका कारण नगरपालिकाको आन्तरिक आम्दानी र सङ्घीय सरकारबाट प्राप्त हुनुपर्ने राजश्व बाँडफाँडको रकम घटेर आएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा नगरपालिकाले रु १५ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेपनि रु तीन करोड आम्दानी घटेको छ भने सङ्घीय सरकारबाट राजश्व बाँडफाँडमा प्राप्त हुनुपर्ने रु ७ करोड बजेट घटेको छ ।

    “गत वर्ष मात्रै रु १० करोड बजेट कम भयो, विकास आयोजना क्रमागत राखेर अगाडी बढाइएपनि यो वर्ष पनि आम्दानी घट्ने लक्षण देखिइसकेको छ,” नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

    युवा अभियान्ता अपार पौडेलले अन्तर्राष्ट्रिय क्लवका सदस्यहरुलाई एउटै टिममा राखेर नगरपालिकाले काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिकालाई अग्रणी नगरपालिकाको रुपमा विकास गर्न कार्यक्रम बनाएर अगाडी बढाउन क्लवहरुको भूमिका देखिनुपर्ने पौडेलले बताउनुभयो ।

    लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य र पर्यावरणको क्षेत्रमा क्लव सहयोग गर्न तयार रहेको बताउनुभयो । जिल्लाका विभिन्न विद्यालयको भवन निर्माण, क्याम्पसमा विज्ञान प्रयोगशाला भवन, कम्प्युटर सामग्री सहयोग लगायतमा क्लवले सहयोग गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो ।

    शिक्षाकर्मी बिना कैनीले सबै अन्तर्राष्ट्रिय क्लवहरुमा सामाजिक सेवाको भावना रहेको र सोही अनुसार नै कार्यक्रम हुँदै आएको बताउनुभयो ।

    व्यास नगर युथ काउन्सिलका अध्यक्ष गौरव पन्थले कोभिड–१९ नियन्त्रण र स्थानीय विकासमा अन्तर्राष्ट्रिय क्लवहरुले पु¥याउन सक्ने योगदानका विषयमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

    उक्त अन्तरक्रियामा लायन्स क्लवहरु, रोटरी क्लव, जेसीआई व्यास नगर, लियो क्लव, रोट¥याक्ट क्लवले गरेका काम र नगरपालिकाको सहकार्यमा गर्न सकिने कामका विषयमा छलफल गरिएको थियो ।