तनहुँको मनहरिमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको मनहरिमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८३, बिहीबार

    दमौली, २१ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मनहरीमा आज बिहान एम्बुलेन्स र मिनी ट्रक एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् ।

    पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ५६५९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लु.प्र.०१–००१ झ ००४६ नम्बरको एम्बुलेन्स ठोक्किदा सात जना घाइते भएका हुन् ।

    दुर्घटनामा एम्बुलेन्समा सवार छ जना र मिनी ट्रक चालक गरी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

    दुर्घटनामा एम्बुलेन्स चालक रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने २४ वर्षीय कुशल परियार, सोही ठाउँ बस्ने ६१ वर्षीया जुनराखी बुढा मगर, २५ वर्षीया अन्जना बुढा मगर, तीन वर्षीय युवान बुढा मगर, पूर्वी रुकुम भुमे गाउँपालिका–७ बस्ने ३६ वर्षीया चिजामाया घर्ती, रोल्पाको थवाङ गाउँपालिका–२ बस्ने ६० वर्षीया धनप्रसाद बुढा मगर घाइते भएका छन् । घाइतेमध्ये २५ वर्षीया अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

    यस्तै मिनी ट्रक चालक तनहुँको म्याग्दे गाउँपालिका–२ बस्ने ३८ वर्षीय महेन्द्र रानाभाट समेत घाइते भएका छन् ।

    घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।