तनहुँ : नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाले अपाङ्गता भएकाहरुलाई एम्बुलेन्स भाडामा छुट दिने घोषणा गरेको छ । ५८ औं नेपाल रेडक्रस दिवसको अवसरमा ऋषिङ गाउँपालिका-७ पुरानथोकमा शुक्रबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
उपशाखाका सचिव कविराज श्रेष्ठका अनुसार रातो कार्ड प्राप्त ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई १५ प्रतिशत छुट दिने निर्णय भएको छ । त्यस्तै सुत्केरी महिला तथा ७० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई १० प्रतिशत छुट दिने निर्णय भएको छ । यो निर्णय असोज १ गतेदेखि लागू हुने सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
उपशाखाले विगत तीन वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गाउँका जनतालाई सहज भएको उपशाखा सभापति इन्द्र आलेले जानकारी दिनुभयो । उक्त एम्बुलेन्स मार्फत् ऋषिङ गाउँपालिकाका अधिकांश वडा र घिरिङ गाउँपालिकाका सर्वसाधारणले सेवा पाएका छन् ।
“एम्बुलेन्स नहुँदा गाडी रिजर्भ गरेर महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता थियो,” उहॉले भन्नुभयो, “एम्बुलेन्स सेवा शुरु भएपछि सहज भएको छ ।” उपशाखाले ऋषिङदेखि पोखरासम्मको रु ४ हजार ५ सय, भरतपुरसम्मको रु ७ हजार ५ सय र काठमाडौसम्मको रु १० हजाार शुल्क लिने गरेको छ । सोही क्रममा ऋषिङ गाउँपालिका-७ निवासी मनमाया परियारलाई ह्विलचियर वितरण गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले रेडक्रसले सामाजिक सेवामा पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।