


दमौली, ९ असार । पोखरा–मुग्लिङ सडकखण्डमा बिहानीको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना अभियान सञ्चालन गरेका छन्।
मंगलबार बिहान ४ बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा कुल १६६ जना सवारी चालकलाई सडक सुरक्षा, लेन अनुशासन तथा ट्राफिक नियमको पालनाबारे सचेत गराइएको प्रहरीले जनाएको छ।
सचेतना कार्यक्रममा ७७ वटा ठूला सवारी साधन, ४३ वटा चारपाङ्ग्रे साना सवारी साधन तथा ४६ वटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई सडकको अवस्था, सुरक्षित गति, लेन अनुशासन र ट्राफिक नियमको महत्वबारे जानकारी दिइएको थियो।
प्रहरीका अनुसार बिहानको समयमा हुने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालकहरूलाई विश्राम लिएर मात्र सवारी चलाउन, तीव्र गति नियन्त्रण गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ। पोखरा–मुग्लिङ सडकखण्डमा दुर्घटना रोकथामका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।