


दमौली, ९ असार । व्यास नगरपालिकाको आयोजनामा गत जेठ २८ गते व्यास नगरपालिका–१ मा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाबिन्दुको समस्या पहिचान भएका १३ जना ज्येष्ठ नागरिकहरूको मंगलबार सफल शल्यक्रिया गरिएको छ।
मोतियाबिन्दु देखिएका ज्येष्ठ नागरिकहरूलाई व्यास नगरपालिकाको व्यवस्थापनमा सोमबार पोखरा लगिएको थियो। उनीहरूको हिमालय आँखा अस्पताल, घारीपाटन पोखरामा शल्यक्रिया गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
शल्यक्रियापछि ज्येष्ठ नागरिकहरूले पुनः स्पष्ट रूपमा देख्न पाएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले उपचारका लागि आवश्यक समन्वय, व्यवस्थापन तथा सहयोग गरेकामा व्यास नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्।
सोतीले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य संरक्षणलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
सोतीका अनुसार नगरपालिकाले आगामी दिनमा पनि ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित स्वास्थ्य सेवा र उपचार कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।
व्यास नगरपालिकाले जलेश्वर ज्येष्ठ नागरिक सेवा केन्द्र व्यास–१ को सहकार्यमा सञ्चालन गरेको आँखा परीक्षण शिविरबाट मोतियाबिन्दु पहिचान भएका ज्येष्ठ नागरिकहरूलाई शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन तथा सहजीकरण गरेको जनाएको छ।