


दमौली, १५ असार । व्यास नगरपालिका–१३, बेनिकोटस्थित बेनिमित्र प्राथमिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक सहायताअन्तर्गत छात्रवृत्ति तथा पाठ्यपुस्तक खरिदका लागि प्राप्त रकम अभिभावकलाई वितरण गरेको छ।
विद्यालयमा आयोजित अभिभावक भेलाको अवसरमा विद्यालयमा अध्ययनरत ३७ जना विद्यार्थीका अभिभावकलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक किशोर सुनामका अनुसार १२ जना विद्यार्थीलाई जनही रु चार सयका दरले छात्रवृत्ति प्रदान गरिएको छ। साथै, पाठ्यपुस्तक खरिदका लागि प्राप्त कुल रु १२ हजार ४ सय ९ सम्बन्धित विद्यार्थीहरूका अभिभावकलाई वितरण गरिएको उनले जानकारी दिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर थापाले विद्यार्थीहरूको नियमित पठनपाठन, गृहकार्य, अनुशासन तथा शैक्षिक सामग्रीको सही उपयोगमा अभिभावकको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको शिक्षाप्रति थप जिम्मेवार बन्न आग्रह गरे।
हाल बेनिमित्र प्राथमिक विद्यालयमा ३७ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले छात्रवृत्ति तथा पाठ्यपुस्तक रकम वितरणले विद्यार्थीको नियमित अध्ययनलाई थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेको छ।