


दमौली, १७ असार । लायन्स क्लब अफ तनहुँ दमौलीले नयाँ लायन वर्ष २०२६/२७ को शुभारम्भ सामाजिक सेवामूलक कार्यक्रममार्फत गरेको छ। वर्षको पहिलो दिन बुधबार पराशर गुरुकुलमा खाद्यान्न वितरण गर्दै क्लबले वर्षभर सञ्चालन हुने सामाजिक सेवाका कार्यक्रमको औपचारिक सुरुवात गरेको हो।
क्लबका अध्यक्ष सञ्जीव अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ एलका चिफ एड्भाइजर सरोज भण्डारी, पराशर गुरुकुलका अध्यक्ष सत्यप्रसाद खनाल, रिजन चेयरपर्सन रनिल रोका, जोन चेयरपर्सन बसन्त जी.सी., गुरुकुलका गुरुहरू, क्लबका पदाधिकारी तथा सदस्यहरू र गुरुकुलका बटुकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पराशर गुरुकुलका लागि आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो। क्लबका प्रथम उपाध्यक्ष महेन्द्र रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गरेका थिए ।
नयाँ लायन वर्षको सुरुवात नै सेवामूलक कार्यबाट गर्दै लायन्स क्लब अफ तनहुँ दमौलीले समाजप्रतिको आफ्नो उत्तरदायित्व र सेवाभावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्दै समुदायको हितमा सक्रिय रहने जनाएको छ।