


दमौली, १९ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले शुक्रबार जिल्लास्थित राजमार्गका होटल तथा डेरी उद्योगमा अनुगमन तथा निरीक्षण गरेको छ।
डिभिजन कार्यालयका प्रमुख ज्योती आचार्यको नेतृत्वमा गरिएको अनुगमनका क्रममा पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ देउराली क्षेत्रका हाइवे होटल तथा खाजा घरहरूमा अवैध पेय पदार्थ र कम गुणस्तरको कालो अमिलो पेय पदार्थ गरी करिब एक हजार रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई ग्राहकले सहजै देख्ने स्थानमा मूल्य सूची राख्न, भान्सामा नियमित सरसफाइ कायम गर्न तथा फ्रिजभित्र खाद्य सामग्री व्यवस्थित रूपमा भण्डारण गर्न निर्देशन दिँदै सचेत गराएको जनाएको छ।

त्यसैगरी प्राप्त उजुरीको आधारमा बन्दीपुर गाउँपालिका–५ याम्पास्थित एक डेरी उद्योगमा प्रहरी चौकी डुम्रे र सम्बन्धित वडाध्यक्षको समन्वयमा अनुगमन गरिएको थियो। निरीक्षणका क्रममा उक्त डेरी उद्योग लामो समयदेखि सञ्चालनमा नरहेको पाइएको र परिसरमा फेला परेका तीन रोल र्यापर तत्काल नष्ट गर्न लगाइएको कार्यालयले जनाएको छ।
आचार्यले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर नियमित अनुगमनलाई निरन्तरता दिइने बताए। उनले खाद्य व्यवसायीहरूलाई खाद्य स्वच्छता, गुणस्तर र कानुनी मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै उपभोक्तालाई पनि शंकास्पद खाद्य सामग्री वा व्यवसायबारे जानकारी भए सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरे ।