तनहुँ पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८३, सोमबार

    दमौली, २२ असार । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आज बसेको बैठकले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको हो ।

    पूर्णखोप सुनिश्चितता निर्देशिका, २०७१ (तेस्रो संशोधन–२०७७) मा उल्लेख गरिएका सबै मापदण्ड, सूचक तथा प्रक्रिया पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको हो ।

    जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाभित्रका सबै स्थानीय तहले यसअघि सम्पन्न गरेका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणालाई समेत अनुमोदन गरेको समितिका सदस्य सचिव एवं प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले जानकारी दिए ।

    यसअघि भानु, व्यास, शुक्लागण्डकी र भिमाद नगरपालिका तथा म्याग्दे, घिरिङ, ऋषिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाले निर्धारित प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकेका छन्।

    तथ्याङ्क अनुसार तनहुँमा १५ महिनासम्मका तीन हजार चार सय २१ जना तथा १६ देखि ५९ महिनासम्मका १० हजार ९ सय ८१ जना बालबालिकालाई नियमित खोप सेवाको दायरामा समेटिएको छ । स्वास्थ्य संस्थाको नियमित निगरानी, घरदैलो अनुगमन तथा छुटेका बालबालिकाको खोजी अभियानमार्फत शून्य डोज तथा ड्रपआउट बालबालिकाको सङ्ख्या न्यूनतममा झार्ने प्रयास गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ ।

    समितिले जिल्लाका सबै वडा तथा स्थानीय तहबाट पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रतिवेदन प्राप्त भइसकेको र निर्देशिकाले तोकेका सबै प्रक्रिया पूरा भएको पुष्टि भएपछि तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको जनाएको छ। साथै आगामी वर्षहरूमा पनि यही उपलब्धिलाई निरन्तरता दिन नियमित अनुगमन, तथ्यांक अद्यावधिक, छुटेका बालबालिकाको पहिचान तथा समयमै खोप सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    दवाडीले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम लक्ष्य नभई निरन्तर कायम राख्नुपर्ने जिम्मेवारी भएको बताए । उनले भने “पूर्ण खोप सुनिश्चितता घोषणा एउटा महत्वपूर्ण उपलब्धि हो। तर यसको वास्तविक सफलता आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने अवस्था कायम राख्न सक्नुमा निर्भर हुन्छ। स्थानीय तह, स्वास्थ्य संस्था, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, अभिभावक र सबै सरोकारवालाले समन्वय र जिम्मेवारीका साथ काम गरे मात्र यो उपलब्धि दिगो बन्न सक्छ।”

    उनले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जन्मदर्तासँगै खोपको अभिलेख अद्यावधिक गर्ने, बसाइँसराइ गर्ने परिवारका बालबालिकालाई पनि नियमित रूपमा खोप सेवामा जोड्ने तथा शून्य डोज र ड्रपआउट बालबालिकाको खोजीलाई निरन्तर अभियानका रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    उनका अनुसार पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय सरकारको नेतृत्व, स्वास्थ्यकर्मीको सक्रियता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको घरदैलो भूमिका तथा अभिभावकको सचेत सहभागिता अत्यन्त महत्वपूर्ण छ। खोप कार्यक्रमलाई केवल स्वास्थ्य क्षेत्रको कार्यक्रमका रूपमा नभई बालअधिकार, सुरक्षित भविष्य र समग्र मानव विकाससँग जोडिएको अभियानका रूपमा अघि बढाउनुपर्ने उनकाे भनाइ थियो।