


दमौली, ३१ असार। तनहुँ प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनाधिकृत प्रयोग नियन्त्रणका लागि सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको थियो।
उक्त अभियानका क्रममा नियन्त्रणमा लिइएका पाँच जनामध्ये दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाँकी तीन जनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छाडिएको छ।