ग्रामीण पर्यटन वर्ष २०२६ मार्फत बन्दीपुरको प्रबद्र्धन गर्ने लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ग्रामीण पर्यटन वर्ष २०२६ मार्फत बन्दीपुरको प्रबद्र्धन गर्ने लक्ष्य

    सदिक्षा घिमिरे

    ६ श्रावण २०८३, बिहीबार

    दमौली, ७ साउन । प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा र सांस्कृतिक मौलिकताले परिचित बन्दीपुर गाउँपालिकाले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विविध महत्वाकाङ्क्षी कार्यक्रम सार्वजनिक गरेको छ । बन्दीपुरलाई ग्रामीण पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित पर्यटन पूर्वाधार, प्रचारप्रसार, सांस्कृतिक संरक्षण तथा नयाँ पर्यटकीय गन्तव्यहरूको विकासमा विशेष जोड दिइएको छ ।

    गाउँपालिकाले ‘ग्रामीण पर्यटन भ्रमण वर्ष २०२६’ कार्यक्रम सञ्चालन गर्दै बन्दीपुर बजारसँगै ग्रामीण क्षेत्रका पर्यटकीय गतिविधिलाई विस्तार र स्तरोन्नति गर्ने योजना अघि सारेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । गण्डकी प्रदेशको दोस्रो प्रमुख पर्यटकीय गन्तव्य तथा ‘पहाडकी रानी’को रूपमा परिचित बन्दीपुरका सबै वडामा रहेका पर्यटकीय स्थलहरूको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्दै समग्र गाउँपालिकालाई पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको थापाले बताए ।

    पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले पर्यटकीय गाउँ तथा होमस्टेहरूको प्रोफाइल तयार गरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने, पर्यटन डकुमेन्ट्री निर्माण गर्ने तथा होमस्टेहरूको गुणस्तर अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम ल्याएको उनकाे भनाइ छ । साथै होमस्टे सर्किट विकास गरी पर्यटकलाई गाउँ–गाउँसम्म पुग्ने वातावरण बनाइने उनले बताए ।

    बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको तथ्याङ्क व्यवस्थापन तथा सूचना प्रवाहलाई व्यवस्थित बनाउन पर्यटन सूचना केन्द्र स्थापना गरिने र पर्यटकलाई सहज बनाउन पर्यटक म्याप, सूचना बोर्ड, हिमाल अवलोकनसम्बन्धी विवरण तथा डिजिटल क्यूआर बोर्डको व्यवस्था समेत गरिने नीति लिइएको थापाको भनाइ छ ।

    गाउँपालिकाले पदमार्ग विकासलाई पनि प्राथमिकतामा राखेको छ । मणिमुकुन्दसेन पदमार्ग (मिनी ग्रेट वाल), रानीबन पदमार्ग, छिम्केश्वरी क्षेत्र तथा विभिन्न पदयात्रा मार्गहरूको विकास र प्रवद्र्धन गरिने बताउँदै उनले रानीबन पदमार्गलाई ‘बर्ड वाचिङ ट्रेल’का रूपमा विकास गर्ने योजना बनाइएको जानकारी दिए ।

    धार्मिक पर्यटन प्रवद्र्धनका लागि मुकुन्देश्वरी, थानीमाई, खड्कमाई, भुत्याई बराह, सन्तनेश्वर महादेव, मुलपानी महादेव, साम्दी महादेव, तीनधारा महादेव तथा पहाडपानी महादेवलगायतका धार्मिक स्थलहरूको संरक्षण तथा प्रचारप्रसार गरिने बताउँदै थापाले बाइसी–चौबिसे राजाका पालाका ऐतिहासिक गढीहरू, हुस्लाङकोट, चन्द्रकोटलगायतका सम्पदाको इतिहास अध्ययन गरी संरक्षण गरिने बताए ।

    साहसिक पर्यटनको क्षेत्रमा पनि गाउँपालिकाले विशेष योजना अघि सारेको छ । रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, क्यानोइङ, राफ्टिङ तथा साइकलिङ जस्ता गतिविधिको प्रवद्र्धन गर्दै बन्दीपुरलाई साहसिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

    नेपालकै ठूलो मानिने सिद्ध गुफा, पातालद्वार गुफा र शङ्खे गुफाको संरक्षण तथा प्रवद्र्धन गरी त्यहाँ पर्यटकीय गतिविधि विस्तार गरिने बताउँदै थापाले कृषि र पर्यटनलाई एकीकृत गर्दै रैथाने बाली संरक्षण तथा कृषि फार्मलाई ‘फार्म हाउस स्टे’को रूपमा विकास गर्ने नीति अगाडी सारिएको बताए ।

    “आफ्नो गाउँ रमाइलो बनाऔँ” कार्यक्रमअन्तर्गत ग्रामीण सौन्दर्यीकरण, उज्यालो बन्दीपुर अभियान तथा ढुङ्गा छपनी कार्यक्रमलाई निरन्तरता दिइएको छ । रामकोट, धरमपानी र कोरिखालालाई थप सौन्दर्यीकरण गरी कोशेली घर निर्माण तथा सञ्चालनमा प्रोत्साहन गरिने थापाको भनाइ छ ।

    पर्यटकको बसाइ अवधि बढाउन छिमेकी पालिकासँग सहकार्य गरी संयुक्त पर्यटकीय प्याकेज विकास गरिने बताउँदै उनले बन्दीपुर, छिम्केश्वरी, मनकामना मन्दिर, गोरखा दरबार, भानुभक्तको जन्मस्थल तथा तनहुँसुर जोड्ने ट्रेकिङ रुटको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरे ।

    पर्यटन क्षेत्रमा निजी लगानी आकर्षित गर्न लगानीमैत्री नीति तर्जुमा गरिनेछ र बन्दीपुर बजारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी स्मार्ट पर्यटकीय सहरका रूपमा विकास गर्ने दीर्घकालीन योजना सार्वजनिक गरिएको छ।

    थापाले बन्दीपुरको प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार बनाउने लक्ष्यसहित कार्यक्रमहरू ल्याइएको बताउनुभयो । उहाँका अनुसार स्थानीय समुदायको प्रत्यक्ष सहभागिता र लाभ सुनिश्चित गर्दै बन्दीपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिनेछ ।