


दमौली, ७ साउन । तनहुँ प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोतसाधन उत्खननमा संलग्न चार वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहीबार व्यास नगरपालिकाभित्र अवैध रूपमा ढुंगा बोकेको एक ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि व्यास नगरपालिकामा पठाइएको थियो। उक्त ट्याक्टरलाई रु १२ हजार जरिवाना गरिएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय बेलचौताराले विभिन्न मितिमा अवैध ढुंगा उत्खननमा संलग्न रहेको एक स्काभेटर, एक जेसीभी र एक ट्याक्टर नियन्त्रणमा लिई कारबाहीका लागि शुक्लागण्डकी नगरपालिकामा पठाएको थियो। ती सवारीसाधनलाई एकमुष्ट रु ६२ हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।
यससँगै अवैध प्राकृतिक स्रोतसाधन उत्खननमा संलग्न सवारीसाधनबाट कुल रु ७४ हजार जरिवाना असुल गरी कानुनी प्रक्रिया पूरा भएपछि सवारीसाधन छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीले नदीजन्य तथा अन्य प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन र ओसारपसारविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।