


दमौली, ८ साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने तलब–भत्ता सुविधा नलिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सांसद न्यौपानेले तनहुँ–२ मा जनतासँगको प्रत्यक्ष संवादका क्रममा स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिनुपर्ने जनचाहना स्पष्ट रूपमा व्यक्त भएको अनुभूति भएको बताएका छन्। जनमतको सम्मान गर्दै उक्त सुविधा नलिने निर्णय गरेको उनको भनाइ छ।
“जनताको भावना नै मेरो मार्गदर्शन हो। जनमतको सम्मान गर्दै, सरकारले दिने स्वकीय सचिवको तलब–भत्ता सुविधा नलिने निर्णय गरेको छु,” उनले सन्देशमा उल्लेख गरेका छन्।
न्यौपानेले यो निर्णय पूर्ण रूपमा आफ्नो व्यक्तिगत रहेको स्पष्ट पार्दै यसबाट कसैलाई असहजता वा कुनै मर्का पर्न गएमा क्षमायाचना पनि गरेका छन्।