


दमौली, १२ साउन । तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले आफूले सार्वजनिक गरेको समयअनुसार बिहान ४ बजेदेखि ६ बजेसम्म आएका सबै फोन आफैं उठाएर नागरिकका समस्या, गुनासा र सुझाव सुनेको बताएका छन्। तोकिएको समयभन्दा बाहिर आएका फोन भने उठाउन नसकिएको स्पष्ट पार्दै उनले प्राप्त विषयहरू समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।
सांसद न्यौपानेले निर्वाचित भएपछि करिब चार महिनाको अवधिमा ४२ वटा जनसंवाद कार्यक्रम सम्पन्न भएको उल्लेख गर्दै एक वर्षभित्र कम्तीमा १४४ वटा जनसंवाद गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
उनका अनुसार नागरिकबाट प्राप्त गुनासाका आधारमा रासायनिक मलको अभाव, श्रृङ्गपथ मर्मत, दुलेगौंडा–हर्कपुर सडक, खानेपानी, सडक, सिँचाइ, पुल लगायतका विकास आयोजनामा सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय भइरहेको छ।
त्यसैगरी मृगौला रोग उपचार, विद्युत ट्रान्सफर्मर परिवर्तन, स्मार्ट बोर्ड उपलब्ध गराउने, सडक मर्मत, जेब्रा क्रसिङ थप, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालयका सेवा, नागरिकताको उमेर सच्याउने, हाइटेन्सन लाइन सार्ने, तटबन्ध, स्वास्थ्य चौकी, अव्यवस्थित भूमि व्यवस्थापन लगायतका विषयमा पनि पहल भइरहेको उनले बताएका छन्।
सांसद न्यौपानेले केही समस्या समाधान भइसकेको, केही समाधानको प्रक्रियामा रहेको र केही विषय समय लाग्ने प्रकृतिका भए पनि जनताका हरेक समस्यामा इमानदार प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै नागरिकलाई आफ्ना समस्या र सुझाव निरन्तर राख्न आग्रह गर्दै जनताको आवाज सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने आफ्नो दायित्वप्रति सदैव प्रतिबद्ध रहने बताएका छन्।